श्रीलंकाका राष्ट्रपति राजापाक्षले दाजुलाई बनाए प्रधानमन्त्री

कोलम्बो। श्रीलंकाका राष्ट्रपति गोतावाय राजापाक्षले आफ्ना दाजु तथा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई नयाँ प्रधानमन्त्रीका रूपमा चयन गरेका छन्।

श्रीलंकामा गृहयुद्धको कारण बनेका तमिल टाइगर्स विरूद्धको लडाइँमा सशक्त भूमिका खेलेका महिन्दा राजापाक्षले सन् २००५ देखि २०१५ सम्म श्रीलंकाको राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए।

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिङ्गेले पदबाट राजीनामा दिएपछि राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीका लागि महिन्दा राजापाक्षको नाम सिफारिस गरेकाे स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

नवनियुक्त प्रधानमन्त्रीले सन् २०२० को मार्चमा संसदीय निर्वाचन नहुँदासम्म प्रधानमन्त्रीका रूपमा काम गर्ने गरी जिम्मेवारी दिन लागिएको राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ।

राजापाक्षको नेतृत्वमा १५ सदस्यीय कामचलाउ मन्त्रीमण्डलको गठन हुन लागेको पनि स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

नयाँ मन्त्रीमण्डलमा राजापाक्षलाई निर्वाचनमा सघाएका केही नयाँ अनुहार आउने अनुमान गरिएको छ।

गोतावायले राष्ट्रपतिमा विक्रमासिङ्गेको समर्थन पाएका यूनाइटेड नेशनल पार्टीक सजित प्रेमादासालाई करीब १३ लाख मतले पराजित गरेका थिए। (रासस/एएनआई)

प्रतिक्रिया दिनुहोस्