एयर ट्राफिक कन्ट्रोलर सम्मेलन शुरु

काठमाडौं। एयर ट्राफिक कन्ट्रोलरसम्बन्धी ३६औं एशिया प्यासिफिक क्षेत्रीय सम्मेलन आजबाट काठमाडौंमा शुरु भएको छ।

सम्मेलनको उद्घाटन गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सुरक्षित एयर ट्राफिक कन्ट्रोलको चुनौती बढ्दै गएको बताए।

उनले नीति र प्रविधि राम्रो भएमा एयर ट्राफिक कन्ट्रोल प्रणाली पनि सुदृढ हुने बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले सुरक्षित र भरपर्दो एयर ट्राफिक कन्ट्रोल निर्माणका लागि संरचनाको विकास, कन्ट्रोलर क्षमता र गुणस्तरीय व्यवस्थापनका लागि सरकार सधैं तयार रहेको बताए।

नेपाल एयर ट्राफिक कन्ट्रोलर एशोसिएसनका अध्यक्ष रामकृष्ण भट्टले सुरक्षित एयर ट्राफिक व्यस्थापनका विषयमा समेत छलफल हुने जानकारी दिए।

सम्मेलनमा इन्टरनेशनल फेडेरेशन अफ एयर ट्राफिक कन्ट्रोलर एशोसिएसनमा आवद्ध एशिया प्यासिफिक क्षेत्रका १९ मुलुकका प्रतिनिधिहरू सहभागी छन्।

उड्डयन क्षेत्रका चुनौती र अवसरहरू, समानता, विधिकरण र नैतिकता, विकसित एयर ट्राफिक व्यवस्थापन, सूचना र सुरक्षा लगायत विभिन्न पाँचवटा अजेण्डामाथि सम्मेलनमा छलफल हुनेछ।

सम्मेलन ७ मंसीरसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्