'बिजनेश' नहुँदा कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन अनिश्चित

सुर्खेत। संसद् बैठकका लागि पर्याप्त कार्यसूची(बिजनेश) नहुँदा कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन ढिला शुरु हुने भएको छ।

मन्त्रालयमा विधेयक मस्यौदाकै चरणमा रहेकाले तत्काल हिउँदे अधिवेशन आह्वानको सम्भावना नरहेको प्रदेश सरकारले जनाएको छ।

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले हिउँदे अधिवेशन ढिला शुरु हुने बताइन्।

“विधेयक ड्राफ्ट हुँदैछन्, यसपटक ढिला शुरू हुन्छ होला,” उनले भने।

प्रदेश सरकार (मन्त्रिपरिषद्) को सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक प्रावधान छ।

कर्णाली प्रदेशसभाको बर्खे (बजेट) अधिवेशन गत १० असोज अन्त्य भएको थियो।

संसद् अधिवेशन शुरू नहुँदा सांसदहरू फुर्सदिला बनेका छन्।

चाडपर्व मनाउन गएका सांसदहरू यतिबेला संसद् बैठकको पर्खाइमा प्रदेश राजधानी आउने क्रम बढेको छ।

यस अवधिमा सभामुख राजबहादुर शाही, उपसभामुख पुष्पा घर्ती विष्टसहित प्रदेशसभाका केही सदस्यहरूले अन्तर प्रदेश भ्रमण गरे।

उनीहरूले प्रदेश ५ हुँदै प्रदेश १ सम्म पुगेर त्यहाँका प्रदेशसभाले गरेका कामकारवाहीको अध्ययन अवलोकन गरेका थिए।

कतिपय सांसदहरू आ-आफ्नो निर्वाचन क्षेत्रका जनताका भेटघाट गर्नुका साथै प्रदेश सरकारबाट सञ्चालित योजनाको अनुगमन गरी फर्किएका छन्।

दैलेख १ (क) बाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य धर्मराज रेग्मीले निर्वाचन क्षेत्रका सबै गाउँबस्ती घुमेर जनताको आवश्यकता र विकास निर्माणको अनुगमन गरी फर्किएको जानकारी दिए।

कर्णाली प्रदेशसभामा विपक्षी दलका नेता जीवनबहादुर शाही भने उपनिर्वाचनको प्रचारप्रसारका लागि गृह जिल्ला हुम्लामै व्यस्त छन्।

उनी आफैं मतदाता रहेको खार्पुनाथ गाउँपालिकामा आगामी १४ मंसीरमा उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ।

मतदान गरेर प्रदेश राजधानी वीरेन्द्रनगर फर्कने नेता शाहीले बताए।

सभामुख राजबहादुर शाहीले संसद् अधिवेशन बोलाउने सरकारको निर्णयकै पर्खाइमा रहेको बताए।

सरकारले अधिवेशन आह्वान गरेलगत्तै सचिवालयमा दर्ता भएका विधेयकबारे प्राथमिकताका आधारमा बैठकमा छलफल हुने उनको भनाइ छ। रासस

प्रतिक्रिया दिनुहोस्