१३औं सागमा प्याराग्लाइडिङ प्रतियोगिता नहुने

पाेखरा। १५ देखि २४ मंसीरसम्म नेपालमा हुने १३औँ दक्षिण एशियाली खेलकुद(साग)मा प्याराग्लाइडिङ प्रतियोगिता नहुने भएको छ।

सागको नियमअनुसार प्रतियोगिता सञ्चालनका लागि न्यूनतम तीन देश सहभागी हुनुपर्छ।

खेलाडी दर्ताको अन्तिम दिन हिजाेसम्म नेपाल र पाकिस्तानबाहेक अन्य देशबाट खेलाडी दर्ता नहुँदा प्रतियोगिता नहुने निश्चित भएको नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङले बताए।

एक टीममा पाँच पुरुष र महिला तीन गरी आठजना सहभागी हुनुपर्ने भए पनि पाकिस्तानबाट समेत दुईजना खेलाडी मात्र दर्ता भएका दिए।

गत वर्ष इण्डोनेसियामा सम्पन्न एशियन गेममा नेपालले जितेको एक मात्र रजत पदक प्याराग्लाइडिङमा थियो।

सागमा प्याराग्लाइडिङबाट नेपालले कम्तीमा ६ स्वर्ण पदकको आस गरेको थियो भने खेलाडीले गत वैशाखबाट तयारी शुरु गरेका थिए।

प्रतियोगितामा एकल क्रस कन्ट्री महिला र पुरुष, समूह क्रस कन्ट्री महिला र पुरुष तथा एकल एक्कुरेसी महिला र पुरुष एवं समूह एक्कुरेसी महिला र पुरुष गरी आठ स्वर्णका लागि प्रतिस्पर्धा हुने तय भएको थियो।

नेपालले ६ स्वर्ण पदक जित्ने लक्ष्यसाथ तयारी गरे पनि प्रतियोगिता नहुने भएपछि खेलाडी तथा प्रशिक्षक निराश बनेको नेपाल प्याराग्लाइडिङ तथा ह्याडग्लाइडिङ सङ्घका महासचिव शैलेन्द्र रावतले बताए।

सागमा सहभागी हुने नेपाल बाहेकका अन्य प्याराग्लाइडिङको राष्ट्रिय संघ नहनु तथा स्थानीय क्लबलाई ओलम्पिक कमिटीले मान्यता नदिएकाले पनि अन्य देशको सहभागिता नभएको रावतको भनाइ छ।

महिला क्रिक्रेट, महिला फुटबल, आर्चरी, बीच भलिबल, ब्याडमिन्टन, ह्याण्डबल, भारोत्तोलन र ट्र्याथलन खेल गरी आठ प्रतियोगिता भने पोखरामा सञ्चालन गर्ने तयारी गरिएको छ।

पोखरामा हुने साग खेलकुदमा १४४ खेलाडी सहभागी बन्नेछन्, जसमा महिला ९२ र पुरुष ५२ छन्।

आर्चरीको प्रतियोगितास्थल र अभ्यासस्थल पोखरा रङ्गशाला तोकिएको छ।

भारत्तोलन पोखरा–१२ स्थित केसी क्याटरिङ सर्भिस, ह्याण्डबल रङ्गशालामा हुनेछ।

फुटबलको प्रतियोगिता रङ्गशालामा हुनेछ भने गौरीशङ्कर खेल मैदान पोखरा–२५, गोस्तेघाट लामाचौर र नेपाली सेनाको पश्चिम पृतनामा अभ्यासस्थल तोकिएको छ।

बीच भलिबल फेवाताल किनार बाराहीघाट, ट्रायथोलन बसुन्धरापार्क, ब्याडमिन्टन रङ्गशाला, क्रिकेटको अभ्यासस्थल नगर विकास प्रशिक्षण केन्द्र तथा प्रतियोगिता रङ्गशालामा सञ्चालन हुने साग प्राविधिक समितिका सचिव बलराम थापाले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्