नक्कली प्रहरी बनेर फिरौती माग्ने चारजना पक्राउ

कैलाली। नक्कली प्रहरी बनेर फिरौती माग गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कैलालीले चारजनालाई पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका–८ का अनिल चन्द, प्रदीप गिरी, सन्दिप श्रीवास्तव र भक्तराज जोशीलाई नक्कली प्रहरी बनेर फिरौती माग गरिरहेको अवस्थामा दुई दिनअघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले आज जानकारी दिएको छ।

३ मंसीर राति धनगढीगाउँतर्फ जाँदै गरेका अरुण चौधरी र लक्ष्मण चौधरीलाई उनीहरूले बाटोमा रोकेर ‘हामी प्रहरी हौं तिमीहरूसँग लागूऔषध ब्राउन सुगर छ’ भनेर धम्काइ अपहरण गरी कुटपिट गर्नुका साथै ‘एक लाख रूपैयाँ नदिएमा लागूऔषध मुद्दा चालाइदिन्छौं’ भनी फिरौती माग गरिएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए।

पीडित अरुण चौधरी उनीहरूको नियन्त्रणबाट भागेर प्रहरीलाई खबर गरेपछि गएको प्रहरी टोलीले ती अभियुक्तलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका चारैजनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्