साग प्रतियोगितामा त्रुटिरहित सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्रीकाे निर्देशन

काठमाडाैं। गृहमन्त्री रामबहादुर थापाले दक्षिण एशियाली खेलकुद(साग) प्रतियोगिताको क्रममा त्रुटिरहित सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन्।

गृह मन्त्रालयमा आज साग सुरक्षा कार्ययोजनाका सम्बन्धमा आयोजित बैठकमा गृहमन्त्री थापाले साग प्रतियोगिता मुलुकको प्रतिष्ठासँग जोडिएकाले कुनै कमजोरी नहुने गरी सुरक्षा योजना बनाउन निर्देशन दिएका हुन्।

बैठकमा सागका लागि तयार गरिएको सुरक्षा कार्ययोजना प्रस्तुत गरिएको थियो।

कार्ययोजनामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालनको खाका तयार पारिएको छ।

खेलस्थल, खेलाडीको आवासस्थल र खेलाडीको सुरक्षालाई केन्द्रमा राखेर कार्ययोजना तयार पारिएको छ।

गृहमन्त्री थापाले सुरक्षा कार्ययोजना राम्रो बनेको भन्दै यसलाई थप परिष्कृत गर्दै लैजान निर्देशन दिए।

बैठकमा गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी तथा नेपाली सेना र सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकारी सहभागी थिए।

१५ मंसीरदेखि २४ मंसीरसम्म काठमाडौं, ललितपुर, कास्की र धनुषामा १३औं साग प्रतियोगिता सञ्चालन हुँदैछ। रासस

प्रतिक्रिया दिनुहोस्