सार्वजनिक खरिद अनुगमनको कार्यालयमा निर्माण व्यवसायीको धर्ना

काठमाडौं। निर्माण व्यवसायीहरूले आज सार्वजनिक खरिद अनुगमनको कार्यालयमा धर्ना दिएका छन्।

सार्वजनिक खरिद ऐन निर्माणमैत्री बनाउन सरकारलाई दवाव दिंदै आएका उनीहरूले आज काठमाडौंको ताहाचालस्थित् सार्वजनिक खरिद अनुगमनको कार्यालयमा एक घण्टा धर्ना दिएका हुन्।

नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा निर्माण व्यवसायीहरूको टोली धर्ना दिन पुगेको थियो। सार्वजनिक खरिद नियमावली–२०७६मा गरिएको निर्माण कम्पनीहरूको म्याद थप र बैंक क्रेडिट लाईन सम्बन्धी व्यवस्था तत्काल संशोधन गर्न माग गर्दै उनीहरूले सरकारविरुद्ध आन्दोलन गर्दै आएका छन्।

टोलीले अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटालाई भेटेर आफूहरूको समस्या समाधानका लागि सरकारसँग सहजीकरणको भूमिका निर्वाह गरिदिन आग्रह गरे।

अवरुद्ध रहेको विकास निर्माणको कामलाई सूचारु हुने गरी आफूहरूको समस्या समाधानका लागि सहजीकरण गर्न अनुगमन कार्यालयका सचिव सापकोटालाई ज्ञापन पत्र बुझाइएको महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए।

उनले आफूहरूको समस्या समाधानका लागि तत्काल वार्ता समिति गठन गर्न पनि अनुगमन कार्यालयको ध्यानाकर्षण गराएको बताए ।

अनुगमन कार्यालयका सचिव सापकोटाले पनि ऐन संशोधन गरेर निर्माण व्यवसायीहरूको माग सम्बोधन गर्न सहजीकरणको भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे।

उनले निर्माण व्यवसायीको माग सम्बोधन गर्नका लागि आफूहरुले कानुनी परामर्शको काम शुरू गरिसकेको पनि जानकारी दिए।

सचिव सापकोटाले निर्माण व्यवसायीले राखेका माग सम्बोधन गर्न मुख्यसचिव नेतृत्वको उच्च स्तरीय समितिसँग पनि छलफल भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्