शैली थिएटरमा 'भुसको आगो'

काठमाडौं। नेपालमा एकाध थिएटरबाहेक अन्य अधिकांश थिएटरहरू भाडा घरमा चलेका छन्।

यसैबीच शैली थिएटरले काठमाडौंस्थित रातोपुलमा आफ्नै थिएटर निर्माण सम्पन्न गरेको छ।

सोही थिएटरमा गोविन्दबहादुर मल्ल गोठालेको नाटक ‘भुसको आगो’ प्रदर्शनको तयारी पनि गरिरहेको छ।

१५ मंंसीरदेखि ३० मंसीरसम्म हरेक अपरान्ह ४ः५० मा नाटक ‘भुसको आगो’ मञ्‍चन हुने थिएटर व्यवस्थापक भारती रिजालले जानकारी दिइन्।

बन्द कोठाभित्र मात्रै मञ्‍चन हुने नाटक २०६५ देखि सञ्चालनमा आएको शैली थिएटरले खुला आकाशमुनि गर्न थालेको थियो।

त्यसपछि थुप्रै सडक वा कचहरी नाटक मञ्चन गर्‍यो।

थिएटरले एक दशकमा रूसी सांस्कृतिक केन्द्रको हलमा ४० बढी नाटक मञ्चन गरिसकेकाे छ। हरेक वर्ष राष्ट्रिय बाल नाटक महोत्सव आयोजना गर्दै आएको छ।

यस वर्ष माघमा आयोजना हुने ११औं राष्ट्रिय बाल नाटक महोत्सव आफ्नै थिएटरमा गरिने रिजालले बताइन्।

शैली थिएटरका अध्यक्ष एवं भुसको आगो निर्देशन गरेका नवराज बुढाथोकीका अनुसार २०७४ असारदेखि नाटक घर निर्माण कार्य शुरु भएको थियो।

त्यसको झण्डै दुई वर्षपछि बल्ल नाटक देखाउन मिल्ने गरी नाटक घर तयार भएको छ।

“उपत्यकामा अर्को एक नाटक घर थपिएको छ, यसले नाटक अनि साहित्यका विभिन्न विधाहरूको विकास र विस्तारमा हातेमालो गर्नेछ,” उनी भन्छन्।

नाटक ‘भुसको आगो’ गोविन्दबहादुर मल्ल गोठालेले २००७ को प्रजातन्त्रको स्थापनापछि र राजा महेन्द्रले ‘कु’ गर्नु अगाडिको पृष्ठभूमिमा तयार पारेका हुन्।

त्यसकारण १०४ वर्षसम्म राणाहरूको जहाँनिया शासन भोगेका अनि भर्खरै जननिर्वाचित प्रजातान्त्रिक सरकारको अनुभव बटुलिरहेका नेपाली समाजलाई बुझ्न यो नाटकले सहयोग गर्ने नवराजले विश्वास लिएका छन्।

त्यसबेलाको पितृसत्तात्मक समाजलाई महिलाहरूले हेर्ने दृष्टिकोण के थियो भन्ने पनि यो नाटकमा हेर्न पाइने उनको तर्क छ।

पहिले परित्याग गरिएकी र पछि शिक्षित भएपछि पुनः भित्र्याउन खोजिएकी मुख्य पात्रमार्फत् नारीको सङ्घर्षशील चरित्र देखाउने उनले उल्लेख गरे।

यस नाटकमा ६ जना कलाकार सरस्वती अधिकारी, सगुन पोखरेल, अश्मिता खनाल, चाँदनी शाही, सृष्टि आचार्य र निमा पाण्डेले अभिनय गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्