नेपाल–भारत समन्वय बैठकः सीमा व्यवस्थापन मजबुत बनाउन संयुक्त अभ्यास गरिने

काठमाडौं। नेपाल र भारतका सुरक्षा अधिकारी सम्मिलित समन्वय बैठक आज सकिएको छ।

बैठकमा सीमा व्यवस्थापनलाई मजबुत बनाई राख्न आवश्यकताअनुरूप संयुक्त अभ्यास गरिने सहमति भएको छ।

साथै दुवै देशले आपसी समन्वयका लागि ‘नोडल अफिसर’ तोक्दै आएकोमा सो कार्यलाई पनि निरन्तरता दिइने निर्णय बैठकले गरेको छ।

नेपाल र भारतको सुरक्षा प्रमुख तहमा द्विपक्षीय वार्ता भएको यो चौथो अवसर हो।

बैठकमा सीमावर्ती अपराध नियन्त्रणमा आपसी सहयोग आदानप्रदान गर्ने, सूचनाको आदानप्रदान गर्ने, चाडपर्वका अवसरमा दुवै देशका नागरिकलाई सुरक्षित एवं सहज अवागमनका लागि दुवै देशका सुरक्षाकर्मी सम्मिलित सहायता कक्षलाई निरन्तरता दिइने सहमति भएको छ।

यस्तै तेश्रो देशका नागरिकबाट नेपाल–भारत सीमा क्षेत्रमा हुन सक्ने अवैधानिक गतिविधि नियन्त्रणका लागि नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीले निगरानी बढाउने समेत सहमति भएको सशस्त्र प्रहरी बल प्रधान कार्यालय काठमाडौंका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार बैठकले दुवै देशका सुरक्षाकर्मीबाट नियमितरूपमा ‘गुडविल भिजिट’को आदानप्रदान गर्ने निर्णय पनि गरेको छ।

आगामी पाँचौं नेपाल–भारत समन्वय बैठक आगामी वर्ष भारतमा हुने निर्णय भएको छ।

बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको नेतृत्वको सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरू, गृहमन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकृतहरूको सहभागिता थियो।

तीन दिनसम्म सञ्चालित बैठकमा भारतका तर्फबाट सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशक कुमार राजेश चन्द्रको नेतृत्वमा ६ सदस्यीय टोलीको सहभागिता थियो।

समन्वय बैठक ४ मंसीरदेखि ६ मंसीरसम्म पोखरामा भएको थियो।

प्रतिक्रिया दिनुहोस्