'काेर्ष' पूरा नहुँदै परीक्षामा सहभागी हुनुपर्ने बाध्यता

जुम्ला। पढाइ पूरा नहुँदै जुम्लाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी वार्षिक परीक्षामा सहभागी हुने गरेका छन्।

जुम्लामा रहेका अधिकांश विद्यालयमा पढाइ नसकिँदै विद्यार्थीले वार्षिक परीक्षा दिनुपर्ने बाध्यता छ।

समयमै पाठ्यपुस्तक नपुग्नु र पुगे पनि नियमित शिक्षक विद्यालयमा अनुपस्थित हुने गरेका कारण विद्यार्थीले पढाइ पूरा नहुँदै परीक्षा दिनुपर्ने बाध्यता भएकाे हाे।

मुख्य विषयका पढाइ आधा पढ्दै विद्यार्थी परीक्षामा सहभागी हुनुपर्ने अवस्था छ।

हिमाली जिल्ला जुम्लामा यही मंसीर महीनाको पहिलो सातादेखि सामुदायिक विद्यालयले वार्षिक परीक्षा सञ्चालन गर्दै आएका छन्।

कनका सुन्दरी मावि लुडकुमा अध्ययनरत विद्यार्थीले आधा ‘कोर्ष’ पढेर परीक्षामा सहभागी हुनुपरेको गुनासो गरेका छन्।

उक्त विद्यालयमा आजबाट वार्षिक परीक्षा सञ्चालन गरिएको छ।

विज्ञान र लेखा विषयबाहेक अन्य विषयको कोर्ष पूरा नहुँदै वार्षिक परीक्षामा सहभागी हुनु परेको कक्षा १० मा अध्ययनरत विद्यार्थी पुजनकुमार उपाध्यायले बताए।

पूरा कोर्ष पढ्न नपाई परीक्षामा सहभागी हुनु पर्दा आधा प्रश्न छोड्नुपरेको उनले गुनासाे गरे।

विद्यालयमा शिक्षक नियमित उपस्थित नभएका कारण आधा कोर्ष मात्र पढाइ भएको उनको भनाइ छ।

कनकासुन्दरी मावि लुडकुका प्रधानाध्यापक लोकेन्द्रप्रसाद उपाध्यायले शिक्षकको अनुपस्थितिले पूरा कोर्ष पढाइ नभएको बताए।

विभिन्न कामले शिक्षकहरू बिदामा बसेका कारण विद्यार्थी आधा पढ्दै परीक्षामा सहभागी हुनुपर्ने अवस्था आएको उनको भनाइ छ।

कुनै पनि वर्ष जुम्लामा पूरा कोर्ष पढाइ भएको ‘रेकर्ड’ छैन ।

कुनैकुनै विषयका कोर्ष पूरा भए पनि, मुख्य विषय गणित, अङ्ग्रेजी, विज्ञानलगायत विषयका कोर्ष पूरा हुने गरेका छैनन्।

अभिभावकले पनि आफ्नो छोराछोरीको पढाइ कस्तो भइरहेको छ भनेर विद्यालयमा आएर चासो नदिएका कारण समयमै कोर्ष पूरा नभएको शिक्षा विकास तथा समन्वय एकाइ जुम्लाका प्रमुख मक्करबहादुर भण्डारीले बताए।

कोर्ष पूरा नभई जुम्लामा वार्षिक परीक्षा हुने गरेको कुरा स्वीकार गर्दै भण्डारीले दरबन्दीअनुसारका शिक्षक नभएका कारण पनि समस्या भएको बताए।

स्थानीय सरकार र विद्यालय व्यस्थापन समितिले बेलाबेला अनुगमन गरी कोर्ष पूरा गराउन शिक्षकलाई सुझाव दिनुपर्ने भण्डारीको भनाइ छ। रासस

प्रतिक्रिया दिनुहोस्