नेशनल मेडिकल कलेजले गरायो विद्यार्थीबीचमै झडप

वीरगन्ज। नेशनल मेडिकल कलेजका आन्दोलनरत पहिलो वर्षका विद्यार्थी र प्रशासन कोटाबाट पढिरहेका पुराना विद्यार्थीबीच झडप भएको छ।

ती पुराना विद्यार्थीहरूले आन्दोलनरत महिला विद्यार्थीहरूलाई समेत हातपात गरेका छन्।

“हामी धर्ना सकेर होस्टेल जाँदै थियौं, १५–२० जना सिनियरहरूले हामीमाथि हातपात गर्नुभयो,” आन्दोलनरत एक विद्यार्थीले भने, “महिला विद्यार्थीमाथि पनि हातपात भएको छ।”

ती विद्यार्थीले कलेज सञ्चालकले प्रशासन कोटामा पढेका विद्यार्थी लगाएर कुटपिट गर्न लगाएको आरोप लगाए।

हिजोबाट पहिलो वर्षका विद्यार्थीहरूले धर्ना शुरु गरेका थिए। आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म धर्ना बसे।

धर्ना सकिसकेपछि झडप भएको विद्यार्थी बताउँछन्।

अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने माग राख्दै एक महीनादेखि मेडिकल कलेजका विद्यार्थीहरू आन्दोलित छन्।

आन्दोलनरत विद्यार्थीहरूले हातपात गर्ने प्रशासन कोटाका पुराना विद्यार्थीहरूविरुद्ध उजुरी दर्ता गर्ने तयारी थालेका छन्।

अहिले सो विषयमा छलफल भइरहेको एक विद्यार्थीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी वीरेन्द्रकुमार शाहीले विद्यार्थीहरू धर्नामा बसेको तर, झडप नभएको बताए।

प्रतिक्रिया दिनुहोस्