साढे पाँच किलो गाँजासहित मकवानपुरमा दुईजना पक्राउ

मकवानपुर। साढे पाँच किलो लागुऔषध गाँजासहित दुईजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।

गएराति इलाका प्रहरी कार्यालय नेवारपानी, मकवानपुरको टोलीले हेटौंडा उप–महानगरपालिका–१९, पश्चिम लोकमार्ग नजिकैबाट बारा निजगढ नगरपालिका–१२ का २७ वर्षीय राजकुमार तितुङ्ग र ३२ वर्षीय वीरबहादुर तितुङ्गलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बा५७प २३४३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्दा गाँजा बरामद भएको हो।

वीरबहादुरको झोलाभित्र प्लाष्टिकमा राखी डोरीले बाँधी चारपाटे आकार बनाई राखेको अवस्थामा लागुऔषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रहरीले उनीहरूविरुद्ध लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा चलाउने जनाएको छ।

यो ऐनमा दुई वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तथा सवारीसाधनसमेत जफत हुने प्रावधान छ।

प्रतिक्रिया दिनुहोस्