केन्यामा पहिरोमा परेर ३७ को मृत्यु

केन्या। केन्यामा पहिरोमा परेर मृत्यु हुनेको संख्या ३७ पुगेको छ।

दुईदिनअघि रातिकाे समयमा पहिरोमा परी मृत्यु हुनेको संख्या बढेर अहिलेसम्म ३७ पुगेको पुष्टि सरकारी अधिकारीहरूले गरेका हुन्।

देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने वेस्ट पोकोटमा घटना भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

केन्याका राष्ट्रपति उहुरु केन्याटाले मृतकप्रति श्रद्धान्जली व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्।

उनले प्रकाशित गरेको शोक वक्तव्यमा पहिरोका कारण बेपत्ता भएकाहरूको खोजी कार्य जारी राख्न र बेपत्ता तथा मृतकका परिवारलाई सहयोग गर्ने प्रतिबद्धता गरिएको छ।

त्यसैगरी आगामी दिनमा यसैगरी ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिने तर्फ अहिलेदेखि नै सतर्कता अपनाउन पनि राष्ट्रपति केन्याटाले आह्वान गरेका छन्।

केन्याका गृहमन्त्री फ्रेड मातीअङले पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतका कामहरू भइरहेको जानकारी दिए।

“उद्धार तथा राहतको कामहरू भइरहेको छ, त्यसका लागि सुरक्षाकर्मीहरूको टोली र मानवीय सहायतासम्बन्धी निकायका व्यक्तिहरू खटिएका छन्,” उनले भने।

प्रतिकूल मौसमका कारण खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेकाे उनले जानकारी दिए।

थप क्षति हुनबाट बचाउने प्रयास नै अहिलेको प्राथमिकता भएको उनको भनाइ छ।

पहिरो प्रभावितहरूलाई अत्यावश्यक सेवा सुविधाहरूको अभाव रहेको बताइएको छ।

केन्याको यो घटनास्थल छिमेकी मुलुकहरू युगान्डा र दक्षिणी सुडानबाट पनि नजिक पर्दछ ।

प्राकृतिक श्रोतसाधन र भाैतिक संरचनाहरूको जथाभाबि प्रयोग तथा दोहन, अत्यधिक धेरै बाटो र पुलहरूको निर्माणलगायतका कारणले पहिरो गएको बताइएको छ। रासस-सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्