कंगाेमा विमान दुर्घटना, २३ को मृत्यु

कंगाे। आज कंगोमा भएको विमान दुर्घटनामा कम्तीमा २३ जनाको मृत्यु भएको उद्धारकर्मीहरूले जनाएका छन्।

विमानले धावन मार्गबाट उडान भरेको केही समयभित्रमा नै विमानमा प्राविधिक समस्या आएर प्रजातान्त्रिक गणतन्त्र कंगाेको घना वस्तीमा खसेको थियो।

दुर्घटनाग्रस्त विमान कम्पनी ‘बिजी बी’का हेरिटिएर सैयद मोमादाउले विमानमा दुई चालक दलका सदस्यसहित १९ जना रहेको बताए।

उनीहरूलाई जीवित भेट्ने सम्भावना निकै कम भएको उद्धारका कार्यका लागि घटनास्थलमा तैनाथ सुरक्षाकर्मीले बताए।

“अहिलेसम्म २३ जनाको मृत शरीर घटनास्थलबाट निकालिएको छ,” गोमास्थित उद्धार टोली संयोजक जोसेफ माकुन्दीले बताए।

गोमा विमानस्थलका अधिकारी रिचार्ड मङ्गोलोपाले एएफपीसँगको कुराकानीमा दुर्घटनामा कुनै पनि यात्रु जीवित उद्धार गर्ने सम्भावना क्षीण रहेको बताए।

गोमाबाट उत्तरी क्षेत्रमा रहेको बेनीका लागि बिहान करीब ९ बजे उडेको ‘डोर्नियर–२२८’ विमानस्थलबाट ३५० किलोमिटर टाढा आवास क्षेत्रमा खसेको कंगोका अधिकारीहरूले पुष्टि गरेका छन्।

बिजी बीका तीन विमानले उत्तरी किभू प्रान्तका विभिन्न रूटमा सेवा दिँदै आएको थियो।

विमान कम्पनीका एक प्राविधिकले प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त भएको बताएका छन्।

विमान वस्तीमा खसेको तर, त्यहाँ कतिको मृत्यु भएको वा घाइते भएको भन्ने जानकारी आइसकेको छैन। (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस्