महिला हिंसामा परेकालाई संरक्षण गर्न आश्रयस्थल
काठमाडाैं। महिला हिंसामा परेकालाई संरक्षण गर्ने उद्देश्यले काठमाडौंको उत्तरी भेग मूलपानीमा करीब डेढ रोपनी क्षेत्रफलमा आश्रयस्थल निर्माण गरिएको छ।

लैङ्गिक हिंसामा परेकालाई आवास, मेडिकल, मनोसामाजिक एवं कानूनी परामर्श उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएकाे साे आश्रयस्थलमा तीनवटा भवन निर्माण गरिएको छ।

साे आश्रयस्थलका भवनहरू सात करोड रूपैयाँ लागतमा एपेरियन नामक गैरसरकारी संस्थाले डेढ वर्षकाे अवधिमा बनाएकाे हाे।

आश्रयस्थल आजदेखि सञ्चालनमा ल्याइएको छ।

महिला हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत सञ्चालनमा ल्याइएको त्यस स्थलमा व्यावसायिक तालीम, स्वास्थ्य परीक्षण, परामर्श, आवास गरी ३० कक्ष छन्।

जम्मा २० महिला तथा १५ बालबालिका अटाउन सक्ने क्षमताको आश्रयस्थलमा स्थानीय तह, महिला हिंसाविरुद्ध क्रियाशील संस्था तथा प्रहरीको सिफारिसमा पीडित महिलालाई आश्रय दिइने व्यवस्था गरिएको छ।

पीडित पक्षलाई सम्बन्धित घरपरिवारमा मेलमिलाप, व्यावसायिक तालीम र रोजगारीको प्रबन्ध गरी उनीहरूलाई आर्थिक सशक्तीकरणका कार्यक्रम सञ्चालन गरिने उद्देश्य राखिएको छ।

हिंसामा परेका महिलालाई सामाजिक रूपान्तरण गर्न हाउस किपिङ, खाना पकाउने, ब्युटिसियन, सुरक्षा गार्ड, बालबालिका हेरचाह र मन्टेश्वरी तालीम सञ्चालन गरिने जनाइएको छ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले भवनको उद्घाटन गर्दै महिला वर्गमाथि आर्थिक पहुँच नभएका कारणले अधिकांश महिला घरेलु हिंसाको शिकार हुने गरेकाले सामाजिक रूपान्तरणको महत्त्व रहेको बताइन्।

एपेरियनका प्रमुख कार्यकारी अधिकृत प्रज्ञा राईले उक्त आश्रयस्थलमा काठमाडौं तथा त्यस वरपर क्षेत्रका पीडितलाई सहयोग गर्ने उद्देश्य राखिएको बताइन्।

उनले अछाम, बझाङ, बाजुरा, बैतडी, ओखलढुंगा, सिन्धुली र उदयपुरमा पनि यस किसिमको स्थल सञ्चालन गरिएको जानकारी दिइन्। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्