कुशल बने पीपीएलका सर्वाधिक महँगा खेलाडी

काठमाडौं। युवा अलराउन्डर कुशल मल्ल पोखरा प्रिमियर लिग (पीपीएल)को दोस्रो संस्करणमा सबैभन्दा महँगा खेलाडी बनेका छन्।

आज काठमाडौंमा भएको खेलाडी ‘बिड’मा कुशललाई पोखरा पल्टनले एक लाख ५० हजारमा अनुबन्ध गरेको हो।

प्रतियोगिताका सबै ६ फ्रेन्चाइज क्लबले तीन खेलाडीलाई फुकुवा गरेका थिए। सबै क्लबले दुई/दुई नयाँ खेलाडी अनुबन्ध गरे।

त्यस्तै विक्रम सोब दोस्रो महँगा खेलाडी हुन्।

विक्रमलाई चितवन राइनोजले एक लाख ३० हजारमा अनुबन्ध गरेको हो।

तीन खेलाडी फुकुवा गरेर दुई खेलाडी अनुबन्ध गर्दा बाँकी एक खेलाडीको पूर्ति गर्न विदेशी खेलाडी थप्ने तयारी गरेको क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रमुख छुम्पी लामाले बताए।

पहिलो संस्करणमा एक टोलीमा दुई विदेशी खेलाडी थिए। अब एक थप गरी तीन विदेशी खेलाडी राख्ने प्रावधान बनाउने तयारी भइरहेको लामाले बताए।

२८ मंसीरबाट शुरू हुने दोस्रो संस्करणको खेलाडी ‘बिड’मा दीलिप नाथ तेस्रो महँगा खेलाडी बने।

उनलाई विराटनगर टाइटन्सले ७५ हजार रुपैयाँमा अनुबन्ध गरेको हो।

विराटनगरले अर्का खेलाडी लोकेश बमलाई ५० हजारमा अनुबन्ध गरेको छ भने जितेन्द्रसिंह ठकुरी, रोविन जोशी र हिमान्सु दत्तलाई फुकुवा गरिदिएको छ।

सुमन गौतम र अनिल खरेललाई समान ५० हजारमा अनुबन्ध गरेको धनगढी ब्लुजले दीलिप नाथ, सन्तोष भट्ट र योगेन्द्र कार्कीलाई फुकुवा गर्‍यो।

काठमाडौं गोल्डेन्स वारियर्सले सुवाव खकुरेल र अमृत भट्टराईलाई समान ५० हजारमा अनुबन्ध गर्‍यो।

नरेश बुढायर, सुमित झा र सुधीर चौधरीलाई फुकुवा गरिदियो।

काठमाडौं गोल्डेन्सले यसअघि काठमाडौं रोयल्सको नाममा खेलेको थियो।

चितवन राइनोजले शक्ति गौचन, स्वपनिल अधिकारी र आकाश थापालाई फुकुवा गर्‍यो।

विक्रम सोब र विक्रम भुसाललाई अनुबन्ध गर्‍यो।

चितवनले भुसाललाई ५० हजारमा अनुबन्ध गरेको हो।

पोखरा पल्टनले दीपेश खत्री, विक्रम भुसाल र दिव्यांशु मलिकलाई फुकुवा गरेको हो।

पोखराले कुशल र आकाश चन्दलाई अनुबन्ध गरेको हो। आकाश ५० हजारमा अनुबन्ध भएका हुन्।

बुटवल ब्लास्टरले शेर मल्ललाई ५० हजार, कमल खत्रीलाई ३० हजारमा अनुबन्ध गरेको छ। उसले सागर पुन, अनिल खरेल र प्रकाश केसीलाई फुकुवा गरेको थियो।

पहिलो संस्करणको उपाधि पोखरा पल्टनले जितेको थियो।

दोस्रो संस्करण २८ मंसीरदेखि १२ पुससम्म पोखरा रंगशालाको क्रिकेट मैदानमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्