काम नगर्ने निर्माण कम्पनीसँग ठेक्का सम्झौता नगर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने र क्षमता भन्दा बढी ठेक्का लिने निर्माण कम्पनीसँग ठेक्का सम्झौता नगर्न निर्देशन दिएका छन्।

सिंहदरबारमा आज भएको मन्त्रालयगत चौमासिक समीक्षा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामर्थ्य नभएका निर्माण कम्पनीलाई ठेक्का नदिन निर्देशन दिएका हुन्।

उनले मन्त्रालय मातहत निकायका विकास आयोजनाको कामलाई प्रभावकारी र परिणाममुखी बनाउन समेत निर्देशन दिए।

प्रधानमन्त्री ओलीले आउँदो १५ दिनभित्र सम्पूर्ण ठेक्काको विवरण तयार गर्न सम्बन्धित मन्त्रालयका सचिवहरूलाई निर्देशन समेत दिए। “कहाँ–कहाँ कुन कम्पनीसँग के काम गर्ने सम्झौता भएको छ, १५ दिनभित्र तयार पार्नुहोला”, प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले धेरै ठेक्का लिएर काम अलपत्र पार्नेलाई हटाएर अर्को सक्षमलाई जिम्मेवारी दिनुपर्ने बताए। उनले सुशासन र विकासमार्फत् राजनीतिमा आएको परिवर्तनको अनुभूति जनतामा गराउन मुलुकका सम्पूर्ण क्षेत्रमा देखिनेगरी सुधार गर्नुपर्ने आवश्यकता औंल्याए।

“जनताले अनुभूति गर्नेगरी सुधारका काम गर्नुस्”, प्रधानमन्त्री ओलीले भने, “सुधारका काम गर्दा कुनै कानूनले रोक्दैन।”

प्रधानमन्त्री ओलीले अनुदान रकमको सम्पूर्ण विवरण बुझाउन सबै मन्त्रालयहरूलाई निर्देशन दिए।

उनले स्रोत निश्चित नभएका, नीति तथा कार्यक्रम र बजेटमा नपरेका परियोजनामा खर्च गर्ने तथा बजेट विनियोजन भएका कार्यक्रमका रकम अलपत्र पार्ने प्रवृत्ति दोहोरिन नदिन सचेत गराए।

प्रतिक्रिया दिनुहोस्