धनगढीदेखि अत्तरिया जोड्ने मोहना पुल-अत्तरिया सडकको कालोपत्रे शुरु

कैलाली। धनगढीदेखि अत्तरिया जोड्ने १४ किलोमिटर मोहना पुल-अत्तरिया छ लेन सडक कालोपत्रेको काम शुरु भएको छ।

तीन खण्ड गरेर निर्माण भइरहेको छ लेन सडकको सबै खण्डमा कालोपत्रे गर्ने कार्यलाई अगाडि बढाइएको सडक आयोजनाले जानकारी दिएको छ।

निर्माण अन्तर्गत पहिलो खण्डको भन्सारदेखि मिलन चौकसम्म कालोपत्रेका लागि प्राईम कोड राख्ने कार्य भइरहेको छ।

यसैगरि दोस्रो खण्ड बोराडाडी र तेस्रो खण्ड अत्तरियामा एक/दुई दिनभित्रै कालोपत्रे गर्ने क्षेत्रमा प्राइम कोड राखिने आयोजना प्रमुख होमबहादुर एमसीले बताए।

आयोजनाले अहिले भइरहो कालोपत्रेलाई ट्रायलको रुपमा लिएर सबै प्राविधिक पक्षको परीक्षणपश्चात अन्य क्षेत्रमा कालोपत्रे गरिने प्रमुख एमसीले बताए।

सडक कालोपत्रेसँगै स्थानीय उत्साही बनेका छन्। चटकपुरका मदनराज अवस्थीले कालोपत्रेको काम अगाडि बढ्दा खुशी लागेको बताए।

"धुलो उड्दा अढाई वर्षदेखि व्यापार, व्यवसायमा असर परिरहेको थियो, छ लेन सडक निर्माणको काम छिटोभन्दा छिटो सम्पन्न भए हामीलाई निकै राहत पुग्छ", उनले भने।

जेठ २०७४ बाट मोहना पुल-अत्तरिया सडक निर्माण थालिएको हो। मोहना पुलदेखि बोराडाँडीसम्म शर्मा/अम्बर/नागार्जुन र बोराडाँडीदेखि गेंटासम्म लुम्बिनी/राजेन्द्र/डाँफे जेभीले निर्माण गरिरहेका छन्।

दुवै खण्डको लम्बाई चार दशमलब पाँच किलोमिटर रहेको छ। त्यस्तै गेंटादेखि अत्तरियासम्म पाँच दशमलब १९७ किलोमिटरको तेस्रो खण्डमा लामा/राजेन्द्र/डाँफे जेभीले सडक निर्माण गरिरहेको छ।

दुई वर्षभित्र सडक निर्माण गरिसक्ने सम्झौता भएपनि सडक क्षेत्रमा परेका घर नभत्काउने अडानसहित सर्वोच्च अदालतमा मुद्दा परेको थियो। सर्वोच्चले घर भत्काउन आदेश गरेसँगै सडक निर्माणको काम पुन: सुचारु गरिएको हो ।

ठेकेदार कम्पनीसँग म्याद थपको प्रक्रिया अगाडि बढाइएको आयोजना कार्यालयले जनाएको छ।

एक अर्ब ६५ करोड रुपैयाँ लागतको सो सडकमा अहिलेसम्म करिब ६१ करोड रुपैयाँ खर्च भएको छ।

प्रतिक्रिया दिनुहोस्