प्रधानमन्त्री बिरामी परेपछि खेलाडीको 'सरप्राइज प्याकेज' घोषणा रोकियो

काठमाडौं। दक्षिण एशियाली खेलकुद (साग) को १३औं संस्करणमा पदक जित्ने नेपाली खेलाडीलाई आज प्रधानमन्त्री केपी शर्मा ओलीले बिशेष प्याकेजसहित पुरस्कार घोषणा गर्ने कार्यक्रम तय भएको थियो।

त्यसका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा खेलाडी र खेल क्षेत्रका व्यक्तिहरु जम्मा भइसकेका थिए।

तर, आज बिहानै अस्वस्थ भएपछि प्रधानमन्त्री ओलीलाई अस्पताल लगियो।

त्रिवि शिक्षण अस्पताल परिरसरमा रहेको मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा केहीबेरअघि प्रधानमन्त्री ओलीको एपेण्डिसाइटिसको शल्यक्रिया गरिएको छ।

अचानक स्वास्थ्य समस्या आएपछि प्रधानमन्त्री ओली कार्यक्रममा नआउँदा खेलाडीका लागि घोषणा गर्न लागिएको पुरस्कारको 'सरप्राइज प्याकेज' घोषणा भएन। त्यहाँ पुगेका खेलाडीहरु निराश भए।

प्रधानमन्त्री कार्यक्रममा आउन नसकेपछि अर्थमन्त्री डा युवराज खतिवडा प्रधानमन्त्रीका तर्फबाट कार्यक्रममा उपस्थित भएका थिए। तर, उनले त्यस्तो केही घोषणा गरेनन्।

प्रधानमन्त्रीको सन्देश बोकेर आएका अर्थमन्त्रीले सरकारको तर्फबाट बिशेष प्याकेजको घोषणा गर्ने अपेक्षा खेलाडीको थियो।

अर्थमन्त्री खतिवडाले यसअघि सरकारले ब्यवस्था गरेको रकममा उल्लेख्य वृद्धि गर्ने प्रतिवद्दता मात्र व्यक्त गरे।

कार्यक्रममा उपस्थित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले भने, "प्रधानमन्त्रीको सन्देश लिएर आउनुभएका अर्थ मन्त्रीज्यूले त्यही अनुसारले बोल्दिनु भएको भए खेलाडी प्रोत्साहित हुन्थे अहिले झन रकम घटेको जस्तो अभिव्यक्ति आयो, यसले खेलाडीलाई निराश बनाएको छ।"

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यसअघि बनाएको कार्यविधीमा ओलम्पिकमा स्वर्ण पदक जित्नेलाई एक करोड, रजत पदकलाई ७५ लाख र काश्य पदक जित्नेलाई ५० लाख पुरस्कार दिने ब्यवस्था गरेको थियो।

त्यस्तै एशियन गेम्समा स्वर्ण पदक जित्नेलाई २५, रजत जित्नेलाई १५ र काश्य पदक जित्नेलाई १० लाख रूपैयाँ दिने ब्यवस्था गरेको थियो।

सागमा भने स्वर्ण पदक जित्नेलाई पाँच लाख, रजत पदकलाई तीन लाख र काश्य पदक जित्नेलाई दुई लाख रूपैयाँ पुरस्कार दिने ब्यवस्था गरेको थियो।

महिला भलिबल टीमलाई सम्मान

बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि जितेको राष्ट्रिय महिला भलिवल टोलीलाई सरकारले नगदसहित सम्मान गरेको छ।

सरकारले उपाधि विजेता खेलाडीलाई जनही तीन लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरेको हो।

महिला भलिबल टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको यो पहिलो हो।

प्रतिक्रिया दिनुहोस्