किन यति हचुवामा बोल्छन् नेपाली कलाकर्मी?
काठमाडौं। नेपाली राजनीतिक रंगमञ्चमा फेरि एकपटक देशभक्ति चुलिएको छ। भारत सरकारले हालै जारी गरेको आफ्नो राजनीतिक नक्सामा नेपालको कालापानी–लिम्पियाधुरा क्षेत्रलाई पनि समावेश गरेपछि भारतप्रतिको रोष छताछुल्ल भएको छ।
नेपाली भूगोललाई भारतको दावीबाट मुक्त गराउन माग गर्दै राजनीतिक रुपमा प्रदर्शनहरू भएका छन्। राजनीतिक दलहरूबीच यसबारे विचार–विमर्शदेखि आरोप–प्रत्यारोपसम्म भइरहेकै छ।
यसैबीच नेपाली रंगदुनियाँमा पनि यो विषय प्रवेश भएको छ।
नेपाली सीमा मिच्ने भारतका चलचित्र, गीत समेत नेपालमा प्रतिबन्ध लगाउनुपर्ने माग राख्दै केही रंगकर्मीहरूले आवाज उठाइरहेका छन्।
तर कुनै पनि हल र सञ्चारमाध्यममा भारतीय चलचित्र र गीत प्रसारण रोकिएन।
२६ कात्तिकमा पुनः संवाद चौतारीमा पत्रकार सम्मेलन गर्दै अभियानका संयोजक एवं अधिवक्ता स्वागत नेपालले नेपाली हल र सञ्चारमाध्यमले नेपाली बाहेक भारतीय कुनै पनि सामग्री प्रकाशन गर्न नपाउने धारणा राख्दै भारतीय चलचित्र चलाएमा फिल्म हल नै जलाइदिनेसम्मको धम्कीपूर्ण चेतावनी दिए।
“रोकिएन भने फिल्म हलहरूमा आगो लाग्ला सावधान हुनु। स्वतन्त्र राष्ट्रिय अभियान नेपालको शाखाहरू देशभर छन्। जुनसुकै बेला जहाँसुकै जस्तो पनि आक्रमण हुनसक्छ”, उनले भनेका थिए।
यसरी माग राख्नेमा स्वागत नेपाल एक्ला छैनन्। रंगकर्मीहरूले पनि बेलाबखत यस्ता माग राखेका छन्।
अभिनेता दिपकराज गिरीले सीमाबारे फेसबुकमा स्टाटस लेख्दै भारतीय फिल्मलाई कडाई गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनले लेखेका छन्– “विदेशी मनोरञ्जनलाई छाडा छोडेर हजूरआमा समेत घरमा ‘बेटा थोडा खाना डाल दूं ?’ भन्न थालिसकिन्। न सीमा सुरक्षित छ न भाषा। संस्कृति...सीमा त सकेनौ, उताबाट आउने मनोरञ्जनलाई अलिकति टाइट त गर।”
भारतीय चलचित्रसँग दिपकको गुनासो लामो समयदेखि रहँदै आएको छ। उनले बेलाबेलामा सामाजिक सञ्जालमा भारतीय फिल्ममा कडाइ गर्नुपर्ने मागसहितका स्टाटस लेख्ने गरेका छन्।
चार वर्ष अघि भारतीय नाकाबन्दीका बेला उनले ‘नाकाबन्दीमा पेट्रोल र खाद्य पदार्थ मात्र नहोस्, हिन्दी सिरियल पनि होस्, हिन्दी फिल्म पनि होस्, किनकि अब नेपालकै दाल चामल खान बाध्य भएपछि मनोरञ्जन पनि त पियोर नेपाली नै हुनुपर्याे नि ?’ भन्दै लेखेका थिए।
दशैंताका चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर रिलिजका क्रममा अभिनेता दिपकराज गिरीले भारतीय चलचित्रको कारण नेपाली चलचित्रहरू मारमा परेको भन्दै आक्रोश पोखेका थिए। नेपाल चलचित्र स्वर्णिम महोत्सवबारे आयोजित पत्रकार सम्मेलनमा समेत उनले नेपालमा भारतीय चलचित्रको दबदबाबारे बोलेका थिए।
भारतीय चलचित्र नेपालमा प्रदर्शन गर्न रोक लगाउनुपर्छ भन्ने माग नयाँ भने होइन। भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीको समयमा पनि यो विषय उठेको थियो। नेपाली मामिलामा भारतले हस्तक्षेप गरेको भन्दै होस् वा भारतीय चलचित्रले नेपाली चलचित्रको बजार घटाएको र नेपाली पैसा भारत गएको भन्दै होस्, बेलाबेलामा यस्तो माग बाहिर आउने गरेका छन्।
त्यसो त विदेशी चलचित्रमा कडाई गर्न विधेयक नै बन्दैछ। केही महीनाअघि चलचित्र विकास बोर्डको १९ औं वार्षिकोत्सव कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाली फिल्म चलेपनि नचले पनि विभिन्न भाषामा बनेका स्वदेशी फिल्मलाई हलले १८० दिन प्रसारण गर्नैपर्ने प्रावधान हुने र त्यति समय प्रसारण नगरे हललाई ताला नै लगाइदिने बताएका थिए।
‘राष्ट्रिय चलचित्र नीति–२०७१’ले निर्दिष्ट गरेको विदेशी चलचित्रलाई सकारात्मक विभेद गर्ने गरी सरकारले कोटा प्रावधान लागु गर्न लागेको छ।
सीमा समस्यालाई विश्लेषकहरूले राजनीतिक समस्याका रुपमा व्याख्या गर्ने गरेका छन्। राजनीतिका जानकारहरू सरकारले कुटनीतिक रुपमै यो विषय समाधान गर्नुपर्ने सुझाव दिइरहेका छन्।
सीमा विवाद हुनासाथ वा नाकाबन्दी लगाउनासाथ सम्बन्धित देशको कलामै प्रतिबन्ध लगाउनुपर्ने हचुवा कुरा कलाकारहरू नै किन गर्छन् ?
कवि अमर गिरीका अनुसार सीमा विवादसँग जोडेर भारतलाई दबाब दिने हिसाबले स्रष्टाहरूले हिन्दी सिनेमा प्रवेश निषेध गर्ने माग गरेका हुन्। तर यो समस्या कुटनीतिक संवादका माध्यमबाट समाधान गर्नुपर्ने भएकाले मनोरञ्जनको क्षेत्रमा भारतीय सामग्री निषेध गरेर स्थितीलाई अझ तनावपूर्ण बनाउन नहुने उनको धारणा छ।
“भारतले नेपाली भू–भाग मिचेको विषयलाई लिएर आ–आफ्नो तवरबाट विरोध हुनुपर्छ, समस्या हल गर्न दबाब दिने काम हुन सक्छ,” अमर भन्छन्, “तर यही विषयलाई लिएर कलाका माध्यमहरूमा रोक लगाउने भन्दा पनि सीमा अतिक्रमण संवादका माध्यमबाट दबाव दिउँ। अहिले नै चर्का किसिमका अभिव्यक्ति र कदमहरूमा जान जरुरी छैन।”
वार्तावाट हल हुन सक्ने समस्या यस्ता निषेधका कार्यक्रम गर्न थाले समस्यालाई अझ बढी उत्तेजक बनाउने काम हुने उनी बताउँछन्।
गिरीले नेपाली साहित्य र कलालाई अगाडि बढाउन पनि अन्य देशको कलाकर्मलाई निषेध गर्न नहुने बताए। “नेपालीले विश्वका हरेक देशका प्रविधिसँग जोडिएका गतिविधि वा साहित्य, कला, संगीत, चलचित्रमा आएका नयाँ आयामहरू जान्ने बुझ्ने मौका पाउनुपर्छ, तब मात्रै नेपालीहरूले दुनियाँको रफ्तारसँग कदम मिलाउन सक्छन्”, उनले भने।
लेखक आहुतिका अनुसार अहिलेको जमानामा विदेशी फिल्ममा नियन्त्रण गर्ने वा प्रतिबन्ध लगाउने माग नै असम्भव कल्पना हो।
संगीतकार आभाषका निम्ति मनोरञ्जन सामग्रीमा रोक लगाउने माग देश र भूमिमाथि अतिक्रमण भएपछिको प्रतिक्रिया मात्रै हो।
देशका सीमा र सुरक्षालाई लिएर अन्य देशमा पनि विदेशी चलचित्र, अन्य सामग्री रोक्ने काम भएका छन्। तर यस्ता कदम लामो समयसम्म नटिक्ने बताउँछन् आभाष।
“अहिलेको संसारमा गीतसंगीत, कला साहित्य, चलचित्र ग्रहण गर्ने शैली फरक भइरहेको छ,” उनले भने, “दर्शक सचेत छन्, हलमा चलचित्र रोक्दैमा र गीतहरू नबजाउँदैमा उनीहरूले यो सुन्दैनन्, हेर्दैनन् भन्ने हुन्न। यस्ता सामग्री रोकिए भने पनि त्यो छोटो समयका लागि हुनेछ। पछि फेरि आइ नै हाल्छन्। त्यसैले यस्ता अभियान भन्दा पनि प्रभावकारी अभियान सोच्न जरुरी छ।”
राजनीतिशास्त्री हरि शर्मा त राजनीतिक सीमाहरूले बाँडिएका मानिसहरू पनि साहित्य र कलाले जोडिने धारणा राख्छन्।
केही समयअघि जनकपुरमा भएको लिटरेचर फेस्टिभलमा हरि शर्माले भनेका थिए, “जहाँ कसैको सीमा अन्त हुन्छ, त्यहाँबाट अरू कसैको सीमा सुरू हुन्छ। सीमाको अर्थ निरन्तरता पनि हो। राजनीतिक रुपमा हेर्दा देशहरूको सीमा कोरिएको हुन्छन्। राजनीतिक रुपमा समुदायहरू विभक्त भएपनि साहित्यको मर्म भनेको जोड्ने हो।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्