हात्ती र बाँदरबाट जोगिन सप्तरीमा गाउँलेद्वारा सामूहिक पूजा

सप्तरी। हात्ती र बाँदरले दुःख दिन थालेपछि अग्निसाइर कृष्णासरवन गाउँपालिकामा स्थानीयवासीले सामूहिक पूजापाठ गरेका छन्।

स्थानीयवासीले हात्ती र बाँदरको मूर्ति बनाएर पुरोहित बोलाएर १० मंसीरमा सामूहिक पूजा गरेका हुन्।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका हात्ती र बाँदरले बालीनाली नष्ट गर्नुको साथै ज्यानसमेत जोखिममा पर्न थालेपछि शान्तिको कामना गर्दै हात्ती र बाँदरको मूर्ति बनाई सामूहिक पूजा गरिएको स्थानीय श्यामकुमार चौधरीले बताए।

जंगली हात्ती गाउँ पसेर किसानले लगाएको धानबालीमा क्षति पुर्‍याउने तथा घरसमेत भत्काउने गरेपछि स्थानीयवासी पीडित बनेका छन्। कैयौँ क्षेत्रफल खेतीयोग्य जमिन पनि बाँझै छ।

“हामीले हात्ती धपाउन हरेक उपाय अपनायौँ”, स्थानीय खड्गबहादुर तामाङले भने, “सम्बन्धित निकायमा पटक–पटक आग्रह ग¥यौँ, कसैले चासो नदिएपछि सामूहिक पूजा गर्न बाध्य भयौँ ।”

गाउँमा प्रकोप र विपत्ति आएमा अग्निसाइर मन्दिरको पूजा गरे शान्ति हुने धार्मिक विश्वास छ।

जंगली जनावरबाट असुरक्षित भएको भन्दै स्थानीय सरकार, वन कार्यालय, कोशी टप्पु आरक्ष, जिल्ला प्रशासनलगायलाई जानकारी गराउँदा सुनुवाइ नभएको सूर्यमान तामाङले गुनासो गरे। रासस

प्रतिक्रिया दिनुहोस्