नक्कली हस्ताक्षर गरी बैंकबाट रकम झिक्ने ६ जना पक्राउ

काठमाडौं। हस्ताक्षर नक्कल गरेर बैंकबाट लाखौं रूपैयाँ निकाल्ने ६ जना पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंले विभिन्न बैंकमा खाता खोलेर खातावालाकै नक्कली हस्ताक्षर गरेर रकम झिक्ने व्यक्तिलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल घर भई हाल कालीमाटी बस्दै आएका सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, बाग्लुङ गलकोटका हाल बुद्धनगर बस्ने सुमन पौडेल र सिन्धुपाल्चोकका हाल सुविधानगर बस्ने गोविन्द घिमिरे रहेको परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।

उनीहरूको साथबाट १८ लाख ५० हजार नगद, २९० वटा नागरिकताको फोटोकपी, विभिन्न व्यक्तिको नाम र रकम उल्लेख भएको रजिष्ट्रर २६ थान, दुईवटा हस्ताक्षर नमूना भएको डायरी, अन्य व्यक्तिको नाममा खाता खोल्न फोटो टाँसेको ३०० थान फारम, १९५ जनाको बैंक स्टेटमेन्ट बरामद भएको छ।

त्यस्तै, जनता बैंकबाट विभिन्न व्यक्तिको नाममा जारी भएको नकाटिएका १६ वटा चेकबुक, काटिएको अवस्थाका ४१ वटा चेकबुक, ज्योति विकास बैंकबाट अन्जन बरालको नाममा जारी भएको एउटा चेकबुक, एभरेष्ट बैंकबाट विभिन्न व्यक्तिको नकाटिएको २० थान चेकबुक, काटिएको ३ थान चेकबुकसमेत बरामद गरिएको छ।

प्रहरीले पत्रकार सम्मेलन गरेर पक्राउ घटना विवरण सार्वजनिक गरेको छ। प्रहरीले विभिन्न ८ वटा बैंक शंकाको घेरामा राखिएको छ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा राखी बैंकिङ कसुर सम्बन्धी सात दिने म्याद पाटन उच्च अदालतबाट लिएर अनुसन्धान भइरहेको एसएसपी सुवेदीले बताए।

प्रतिक्रिया दिनुहोस्