गुरूयाेजनाअनुसार नेपालगञ्ज विमानस्थल विस्तारकाे काम

बाँके। नेपालगञ्ज विमानस्थल विस्तारको काम धमाधम भइरहेको छ।

नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक राजन पोखरेलका अनुसार विमानस्थलमा सबै प्रकारका अन्तर्राष्ट्रिय उडान गर्न मिल्ने गरी गुरुयोजनामा नक्साङ्कन र डिजाइन गरिएको छ।

केही समयअघि नेपालगञ्ज आएका पर्यटनमन्त्री योगेशकुमार भट्टराईले सरोकारवालासँगको छलफलमा भनेका थिए, “नेपालगञ्ज विमानस्थलको गुरुयोजना कार्यान्वयनमा आइसकेकाले समयमै काम सम्पन्न गर्न बजेटमा पनि कुनै प्रकारको कमी हुन दिइनेछैन।”

शुरुआती चरणमा एटिआर विमान उडान गर्न मिल्ने गरी नेपालगञ्ज विमानस्थल विस्तार गरिनेछ भने दुई दशकभित्र एअर बस जस्ता ठूला विमान उडान भर्न मिल्ने गरी गुरुयोजनामा डिजाइन गरिएको छ।

नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक पोखरेलले नेपालगञ्ज विमानस्थल विस्तार गुरुयोजनामा निर्माणको अनुमानित लागत १२ अर्ब रहेको बताए।

विमानस्थल विस्तार चार चरणमा हुनेछ।

पहिलो र दोस्रो चरणको काम अहिले धमाधम भइरहेकाे छ। धावन मार्ग विस्तार, टर्मिनल भवनलगायतका काम गर्न जग्गा अधिग्रहणको काम चाँडै शुरू हुने महाप्रबन्धक पोखरेलकाे भनाइ छ।

उनले अन्तर्राष्ट्रियस्तरको विमानस्थलका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)अनुसार नै काम अगाडि बढाउँदा लामो समय सम्पूर्ण उडान बन्द गरेर काम गर्नुपर्ने भएकाले डीपीआर स्वीकृतिपछि सरकारसँग लगानी माग गरिने बताए।

योजनाअनुसार नेपालगञ्ज विमानस्थलको रनवे थ्री–सी क्याटोगरी अर्थात् एक हजार ५२४ मिटरबाट वृद्धि गरी फोर–सी क्याटोगरीमा दुई हजार ४४५ मिटर लामो बनाइनेछ।

त्यसो गर्दा एयर बस ३२० ‘एनइओ’ मोडेलका ठूलो जेट विमान सहजै उडान गर्न सक्ने उनले जानकारी गराए।

हाल दैनिक सरदर ४० उडान हुँदै आएको नेपालगञ्ज विमानस्थलबाट झण्डै एक हजार १०० यात्रु आउजाउ गर्दछन्।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको सबैभन्दा व्यस्त नेपालगञ्ज विमानस्थलका लागि नयाँ गुरुयोजनाअनुसार अगाडि बढ्दा १०० बिघा जग्गा थप आवश्यक पर्नेछ।

हाल १६६ बिघा क्षेत्रफल रहेको नेपालगञ्ज विमानस्थलका लागि थप १०० बिघा जग्गा अधिग्रहण गरेपछि मात्र प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गा पर्याप्त हुने महाप्रबन्धक पोखरेलको भनाइ थियो। रासस

प्रतिक्रिया दिनुहोस्