हुम्लामा टिपर दुर्घटना हुँदा चारजनाकाे मृत्यु, घाइतेको २० घण्टापछि उद्धार
हुम्ला। हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको सल्लीबाट सामान ढुवानी गरिरहेको लु ४ ख ३२६९ नम्बरको टिपर दुर्घटनाका घाइतेको २० घण्टापछि नेपाली सेनाको हेलिकप्टरबाट आज उद्धार गरिएको छ।

घाइते भएकामध्ये सिमकोट गाउँपालिका–६, का बक्त रोकायाको हुम्ला जिल्ला अस्पतालमा उपचारका क्रममा नै मृत्यु भएको छ। अहिलेसम्म मृतकको संख्या चार पुगेको छ।

हिजो दिउँसो २ बजे टिपर दुर्घटना भएकाे थियाे।

मृत्यु हुनेमा नाम्खा गाउँपालिका–१, हेप्कागाउँका छिरिङ कर्मा तामाङ, नरी लामा, खार्पुनाथ–१ का बबरजङ्ग शाही छन्।

मृतकको शव परीक्षण जिल्ला अस्पतालमा भइरहेको छ।

चालकले मदिरा सेवन गरी टिपर चलाएको प्रारम्भिक लक्षण पाइएको भए पनि रिपोर्टमा सो नपाइएको र अन्य विवरण प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख रामप्रसाद घर्ती मगरले जानकारी दिए।

कच्ची सडक खण्डमा दुईपटक सडकको उत्तरी र दक्षिणी भागमा टिपर ठोक्किएको र तेस्रो पटक दक्षिणी भागको भिरालो खण्डमा खसेको पाइएको प्रहरीले जनाएकाे छ।

घाइते हुनेमा नाम्खा–१ का नाम्गेल लामा, नातोक लामा, सिन्दार तामाङ, सिमकोट–६ का कपिल रोकाया, खगेन्द्र रावत, कमल रोकाया, सन्तोष सुनार, रामकुमार रोकाया, सिमकोट– ७ का नर सुनार, खार्पुनाथ–५ का धनसिंह भण्डारी, सर्केगाड गाउँपालिका–२ का चालक आनन्द तामाङ छन्।

घाइतेमध्ये ११ को नेपालगञ्जतर्फ उपचारका लागि लगिएको छ।

दुर्घटनामा अन्य क्षतिको विवरण हालसम्म छानबिनको क्रममा रहेकाे प्रहरीकाे भनाइ छ।

घाइते अधिकांशको अवस्था गम्भीर छ।

दुर्घटनामा चारजनाकाे मृत्यु भएपछि मृतकका आफन्त र सिंगो जिल्ला नै शोकमग्न भएको छ।

मृतकको दाहसंस्कारका लागि सिमकोटमा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थी विद्यालयमा उपस्थित नहुँदा विद्यालयको पठनपाठन समेत प्रभवित भएको छ।

सिमकोटमा रहेका तीन सरकारी र दुई निजी विद्यालयमा आज अघोषित बिदा भएको छ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले १० रूपैयाँ प्रदान गर्दै घाइतेको उपचार प्रदेश सरकारले नै गर्ने बताए।

यस्तै घाइतेको उपचारका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एकमृष्ठ एक लाख नगद सहयोग गरेकाे छ।

जिल्ला समन्वय समिति अध्यक्ष दानबहादुर रावतमार्फत् सहयाेग प्रदान  गरिएकाे हाे। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्