सेनाले त्रि–चन्द्र मिलिटरी अस्पताल भत्काएर बनाएको 'कम्प्लेक्स' भाडामा दिन नपाउने !

काठमाडौं। नेपाली सेनाले ऐतिहासिक त्रि–चन्द्र मिलिटरी अस्पतालको भवन भत्काएर बनाएको दुई अर्ब रुपैयाँभन्दा बढीको आधुनिक भवन व्यावसायिक प्रयोजनमा लगाउन नपाउने भएको छ।

सेनाले २०७१ सालमा त्रि–चन्द्र मिलिटरी अस्पतालको ऐतिहासिक भवन भत्काएको थियो।

त्यो ठाउँमा उसले ठूलो कम्प्लेक्स बनाएर व्यापारिक प्रयोजनका लागि भाडामा दिने निर्णय गरेको थियो।

१ माघ २०७४ देखि यो भवन भाडामा लगाउने गरी सेनाले सार्वजनिक बोलपत्र नै आह्वान गरेको थियो। र, त्यो बोलपत्र आह्वान गरेपछि नै सेनाले यो भवन नक्शापास नै नगरी निर्माण गरेको खुलासा भएको थियो।

काठमाडौं महानगरपालिकाले नक्सापाश नगरी बनेको सोही भवनको नक्शा पछिबाट प्रमाणीकरण गर्दै यसलाई व्यावसायिक प्रयोजनमा लगाउन नपाइने निर्णय गरेको हो।

ऐतिहासिक भवन भत्काएर व्यापारिक भवन बनाएको भनेर आलोचना भइरहेका बेला जंगीअड्डाले नक्शापास नै नगरी भवन बनाएको खुलेपछि सेना विवादमा परेको थियो।

सोहीकारण त्यसबेला सम्झौता गर्न ठिक्क परेको टेण्डर प्रक्रिया नै रद्ध भएको थियो।

त्यसपछि जंगीअड्डाका अधिकृतहरूले नक्शापासका लागि ‘लविइङ गर्दै’ काठमाडौं महानगरपालिकामा लामो समय दौडधुप गरेका थिए।

अन्ततः लामो प्रयासपछि महानगरपालिकाले नक्शापास नै नगरी बनेको यो भवनलाई प्रमाणीकरण गरिदिएको छ।

“यो मात्र नभएर सैनिक मुख्यालयको नयाँ भवनको पनि नक्शापास भएको थिएन, अहिले उहाँहरूले पेस गरेको सामान्य नक्शालाई नगर कार्यपालिका बैठकले प्रमाणीकरण गरेको हो”, महानगरका एक अधिकारीले भने, “भवनको व्यावसायिक प्रयोग नगर्नेगरी प्रमाणीकरण गरिएको हो।”

सेनाले त्रि–चन्द्र मिलिटरी अस्पतालको पुरानो भवन भत्काउँदा त्यही नामको नयाँ अस्पताल बनाएर बहालवाला तथा भूतपूर्व सैनिक र तिनका परिवारसँगै सर्वसाधारणलाई पनि स्वास्थ्य सेवा दिइने घोषणा गरेको थियो।

नयाँ अस्पताल ‘त्रिचन्द्र मिलिटरी हस्पिटल (भेट्रान्स तथा सिभिल)’ का नाममा सञ्चालन हुने घोषणा गर्दै सेनाले त्यसबेला पत्रकार सम्मेलन नै गरेर यो अस्पताल सेवामा समर्पित हुने, व्यवसाय र नाफा यसको ध्येय नहुने समेत स्पष्ट गरेको थियो। तर, नयाँ भवन तयार हुँदानहुँदै जंगी अड्डाले त्यसलाई भाडामा लगाउन टेण्डर आह्वान गरेको थियो।

भाडामा लगाउन फेरि टेण्डर

काठमाडौं महानगरपालिकाका अधिकारीहरू सरकारी भवन व्यावसायिक प्रयोजनमा प्रयोग गर्न नपाइने भएकाले त्यसो नगर्नेगरी नक्शा प्रमाणीकरण गरिएको बताउँछन्।

तर, महानगरले नक्शा प्रमाणीकरण गर्दा यस्तो शर्त राखे पनि सेनाले भने सो भवनलाई भाडामा दिन पुनः टेण्डर प्रक्रिया अघि बढाएको छ।

सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले भने पुनः टेण्डर आह्वान भएको र अब सम्झौताको क्रममा रहेको देखापढीलाई बताए।

भवनको अघिल्तिरको भागमा त्रि–चन्द्र मिलिटरी अस्पताल र ल्याब सञ्चालन गरेको, पछाडिको भवन सैनिक कल्याणकारी प्रयोजनका लागि भाडामा दिने निर्णय भएको उनले बताए।

“अब यो सम्झौताको क्रममा छ”, उनले भने, “त्यसबाट आउने सम्पूर्ण पैसा सैनिक अस्पतालको क्षमता विस्तार गर्न प्रयोग गरिनेछ।”

सैनिक प्रवक्ता पाण्डेले नक्शा प्रमाणीकरण भएको बताउँदै प्रमाणीकरण गर्दा महानगरपालिकाले व्यावसायिक प्रयोग नगर्नू भनेकोबारे आफूलाई जानकारी नभएको बताए।

राजधानीको ‘प्राइम लोकेसन’ मानिने काठमाडौं महानगरपालिका–२२, महांकालस्थानमा निर्मित यो भवनको कूल क्षेत्रफल तीन लाख १५ हजार वर्गफिट छ।

त्यसमध्ये अस्पतालका रूपमा प्रयोग गरिएको अगाडिपट्टिको ३० हजार वर्गफिट क्षेत्रफलबाहेक अरू सबै भाग सेनाले व्यावसायिक प्रयोजनका लागि भाडामा दिन लागेको हो।

प्रतिक्रिया दिनुहोस्