६ वर्षमा ५ क्विन्टलभन्दा बढी सुन बरामद

काठमाडौं। हङकङबाट आएका दुई चिनियाँ नागरिक ८ केजी सुनसहित १२ मंसीर राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे।

जहाजबाट बाहिरिने क्रममा भन्सार र प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

चीनको फुजियान प्रान्तका दुवैजना भरिया रहेको प्रहरीको आशंका छ।

१३ मंसीरमा पनि तिब्बत एयरबाट आइपुगेको चिनियाँ नागरिक सा लुतुई एक केजी सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्।

गत १९ साउनमा हङकङबाटै आएको ली निङसिङ ४ केजी सुनसहित विमानस्थलबाटै समातिए। उनी पनि तस्करका भरिया नै रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

त्यसको १० दिनअघि गोरखाको धार्चे गाउँपालिका–३ खोर्लाबेंसी नजिकैको ओडारमा १६ केजी सुन फेला पर्‍यो।

बरामद सुन गोरखाकै तिब्बती सीमा चुमनब्री गाउँपालिकाको छेकम्पारस्थित ङुइला नाकाबाट भित्रिएको अनुसन्धानले देखाएको आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ।

अवैध रूपमा नेपाल भित्र्याइएको सुन बरामद गरिएका यी पछिल्ला घटना हुन जसबाट तस्करले विभिन्न शैली र बाटो अपनाउँदै सुन भित्र्याउने क्रम चलिरहेको देखिन्छ।

प्रहरीले प्रायः भरिया मात्र समात्ने र मुख्य कारोबारी पत्ता नलगाउने हुनाले पनि तस्करी निरन्तर भइरहेको आँकलन गरिएको छ।

प्रहरीका अनुसार २०७१ सालमा १११ केजी, २०७२ मा ६८ केजी, २०७३ मा ९१ केजी, २०७४ मा १७९ केजी, २०७५ मा ८९ केजी र चालु आर्थिक वर्षको ८ महिनामा २२९ केजी तस्करीको सुन बरामद भएको छ।

प्रहरीका अनुसार ६ वर्षको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा चीन र भारतसँग जोडिएका नाकाबाट ५ सय ६७ केजी सुन बरामद भएको छ।

जुन अहिलेको दरअनुसार करीब तीन अर्ब ५० करोड रूपैया मुल्य बराबरको हो।

तस्करीमा संलग्न ४५५ जना नेपाली र विदेशी नागरिक पक्राउ परेका छन्।

पक्राउ परेका केहीबाहेक अधिकांश भरिया छन्।

प्रतिक्रिया दिनुहोस्