काष्ठमण्डपका लागि थप काठ धनगढीबाट ल्याइने

काठमाडाैं। काष्ठमण्डप पुनःनिर्माणका लागि अभाव भएको आवश्यक आठ हजार क्युफिट काठ धनगढीबाट ल्याइने भएको छ।

अपुग भएको काठ आगामी १५ पुससम्ममा ल्याइने तयारी गरिएको छ।

छानाका लागि काठको समस्या भएको र त्यसका लागि आठ हजार क्युफिट काठ आवश्यक पर्ने हुँदा उक्त स्थानबाट काठ ल्याउने तयारी गरिएको हो।

निर्माणअन्तर्गत अहिले दोस्रो तलाको कामसँगै झ्यालढोकामा बट्टा कुद्ने काम भइरहेको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताए।

त्यसैगरी अहिले ५० प्रतिशत काम सम्पन्न भएको छ।

“अहिले मुख्य चार थाम राखी बीचमा गारो लगाउने काम सकिएको छ”, शाक्यले भने।

समयमा नै काठको व्यवस्था भए यसअघिको भन्दा तीव्ररूपमा काम हुने जनाइएको छ।

निर्माणका लागि अहिले दैनिक ३० कामदारले नियमितरूपमा काम गरिरहेका छन्।

२०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि गत ३१ वैशाखमा क्षमा पूजा गरिएको थियो।

२२ कात्तिकमा शुभारम्भ पूजा गरेर विधिवत् रूपमा सो सम्पदाको पुनःनिर्माण शुरू गरिएको हो।

तीन वर्षभित्र पुनःनिर्माण सक्ने लक्ष्य राखिएको छ।

गत २७ माघ श्रीपञ्चमीका दिन निर्माणाधीन काष्ठमण्डपको मूल थाम उठाइएको थियो।

प्रयोग गरिएका चार थाममध्ये तीन नयाँ प्रयोग गरिएका र एउटा थाम पुरानै प्रयोग गरिएको समितिले जनाएको छ।

उक्त ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौं महानगरपालिकाले पुनःनिर्माण समितिलाई पाँच करोड ५० लाख रूपैयाँ आर्थिक सहयोग गरिसकेको छ।

पुनःनिर्मणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ।

चार वर्षभित्र निर्माण कार्य सक्ने गरी सातौं शताब्दीको काष्ठमण्डप पुनःनिर्माणको काम भइरहेको छ। रासस

प्रतिक्रिया दिनुहोस्