भारततर्फ नेपालले बढायाे वस्तुकाे निर्यात
काठमाडाैं। भारततर्फ नेपालले वस्तुकाे निर्यात बढाएकाे छ।

चालू आर्थिक वर्षको तीन महिनामा भारततर्फ ३५ दशमलव आठ प्रतिशतले निर्यात बढेको हो।

नेपाल राष्ट्र बैंकले भारतसँगको व्यापार घाटामा कमी आई पछिल्ला तीन महिनामा निर्यात बढेको जनाएको छ।

चीन र अन्य मुलुकसँग भने निर्यात घटेको छ।

गत आर्थिक वर्षमा भारतसँग नेपालको व्यापार घाटा सात खर्ब ६४ अर्ब ३० करोड रूपैयाँ थियो।

चालू आर्थिक वर्षमा चीनतर्फ  १९ दशमलव ९ र अन्य मुलुकतर्फ ११ दशमलव सात प्रतिशतले निर्यात घटेको भए पनि यस अवधिमा कूल १४ दशमलव चार प्रतिशतले निर्यातमा वृद्धि भएको छ।

आर्थिक वर्ष २०७६/०७७ को असोज मसान्तसम्म भारततर्फ २७ अर्ब १७ करोड रूपैयाँ बराबर निर्यात भएको हो।

भारततर्फ नेपालले पाम तेल, अलैँची, आयुर्वेदिक औषधि, जुटका सामान, धागो (पोलिस्टर तथा अन्य) वस्तुको निर्यात बढेको छ। चीन र अन्य मुलुकतर्फ जस्तापात, जुस, तयारी पोसाक, ऊनी गलैँचा, तारलगायतका वस्तुको निर्यात घटेको छ।

तीन महिनामा कूल वस्तु आयात १० दशमलव शून्य तीन  प्रतिशतले घटेर तीन खर्ब ३४ अर्ब ९५ करोड रूपैयाँ पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४३ दशमलव शून्य ६ प्रतिशतले बढेको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२ दशमलव शून्य दुई प्रतिशत र १९ दशमलव शून्य एक प्रतिशतले घटेको छ।

चीनबाट भएको आयात ११ दशमलव शून्य ६ प्रतिशतले बढेको छ।

वस्तुगत आधारमा कच्चा पाम तेल, हटरोल सिट, अन्य मेशिनरी तथा पाटपुर्जा, विद्युतीय उपकरण, सोलार प्यानललगायतका वस्तुको आयात बढेको छ।

हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका उपकरण तथा पार्टपुर्जालगायतका वस्तुको आयात घटेको छ।

आर्थिक वर्ष २०७६/०७७ को तीन महिनासम्ममा कूल वस्तु व्यापार घाटा १२ प्रतिशतले सङ्कुचन भई तीन खर्ब सात अर्ब ७८ करोड रूपैयाँ रहेको छ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात आठ दशमलव शून्य एक प्रतिशत पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ६ दशमलव शून्य चार प्रतिशत थियो। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्