बाबुबाटै बलात्कृत बालिका स्कुल जान छाडिन्
काठमाडाैं। बाँकेको खजुरा गाउँपालिकामा एक १६ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएको सार्वजनिक भएको छ।

करीब पाँच महीना अघि भएको बलात्कारको घटना १० मंसीरमा सार्वजनिक भएको हो।

४२ वर्षीय एक बाबुले आफ्नी १६ वर्षकी छोरीलाई १२ असारमा राति सुतिरहेको समयमा जर्बजस्ती बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेपछि घटना बाहिर आएको हो।

“घटना करीब पाँच महीना अघिको रहेछ, अहिले मात्रै बालिकाकी आमाले जाहेरी दिएपछि थाहा भयो,” इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहरी निरीक्षक पोषणराज थपलियाले देखापढीसँग भने, “जाहेरीपछि नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाएका छौं।”

उनका अनुसार पीडित बालिकाको तर्फबाट आमाले ११ मंसीरमा प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी हुन्।

“जबरजस्ती हाडनाता करणीअन्तर्गत जाहेरी दर्ता गरिसकेका छौं,” प्रहरी निरीक्षक थपलियाले भने, “जिल्ला अदालतबाट ७ दिन म्याद थपेर अनुसन्धान भइरहेको छ।”

घटना के थियो?
निर्माण क्षेत्रमा मजदुरी गर्ने ती व्यक्ति सधैंजसो घरमा रक्सी खाएर आउँथे र श्रीमतीलाई कुटपिट गर्थे।

४ असारमा समेत रक्सी खाएर पिटिएपछि अर्को दिन श्रीमती माइत गइन्।

१२ असारमा घरमा श्रीमती र छोरा बुहारी नभएको समयमा ९ कक्षामा पढ्ने छोरीलाई राति ११ बजे जबरजस्ती गरे।

आफूमाथि भएको जघन्य अपराधबारे तत्कालै कसैलाई बताउन नसकेकी छोरीले साउनमा आमा फर्किएपछि उनलाई सुनाइन्।

घरपरिवार, छरछिमेक र आफन्तसम्म खबर पुगे पनि घटना सार्वजनिक गरिएन।

“दिनहुँ रक्सी खाएर कुटपिट गर्ने क्रम रोकिएन,१० मंसीरमा पनि कुटपिट भएपछि हामीलाई खबर आयो,” प्रहरी निरीक्षक थपलियाले भने, “झैझगडा मात्रै भन्ने खबर पाएर पुगेका थियौं तर, त्यहाँ पीडित बालिकाका हजुरबुबाले नै घटना बाहिर ल्याए।”

त्यसपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो।

आरोपितले प्रहरीसँग जाँड खाएको बेला आफूले के गरें भन्ने थाहा नभएको बताएका छन्।

बालिकाले भने त्यसपछि पनि जबर्जस्ती करणीका लागि धम्काउने गरेको बताएकी छन्।

कक्षा ९ मा अध्ययनरत ती बालिका तिहारपछि स्कुल जान छाडेकी छन्।

घरपरिवार, आफन्त र छरछिमेकमा सबैले घटनाबारे थाहा पाएपछि उनी स्कुल जान नसकेको खुल्न आएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्