जानकीलाई नलिएरै किन फर्किन्छ अयोध्याको जन्ती?

काठमाडौं। सामान्यतया विवाहमा बेहुलाले बेहुलीलाई आफ्नो घर लैजाने प्रचलन छ। बेहुलीलाई आफ्नो घर भित्र्याउन बेहुला जन्तीसहित पुग्छन्। र, विधि पूरा गरेर घर भित्र्याउँछन्।

तर, विवाहपछि बेहुला र बेहुली आ–आफ्नै घर फर्कन्छन् भनेको सुन्दा अचम्म लाग्न सक्छ। हो, जनकपुरमा आयोजना हुने विवाह पञ्चमीमा यस्तै हुन्छ। प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनि मार्ग शुक्ल पञ्चमी तिथिमा राम–जानकी विवाह पञ्चमी मेला लाग्छ।

जनकपुरमा विवाह पञ्चमीको विशेष मेला लाग्ने दिन आजै हो।

त्यहाँ राम र सीता (जानकी) को विवाह हुन्छ। तर, विवाहपछि न रामले सीतालाई आफ्नो घर (अयोध्या) लैजान्छन्, न सीताले रामलाई आफ्नो माइती (जनकपुर) मै राख्छिन्। विवाहपछि दुवै आ–आफ्नै घर लाग्छन्।

अयोध्या राजा ‘महाराज दशरथ नन्दन राजकुमार रामचन्द्र’ले प्राचीन शिवधनुष भाँचेको र त्यसपछि मार्ग शुक्ल पञ्चमी तिथिमा राम जानकीको शुभविवाह भएको ऐतिहासक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ। त्यही दिनको सम्झनामा जनकपुरमा ‘रामजानकी विवाह’ हुने गर्छ।

मैथिली सभ्यता–साहित्यका जानकार प्रा.डा. सुरेन्द्र लाभका जनकपुरमा राम र जानकीको मन्दिर नजिकै छ। त्यहीँबाटै राम र जानकीको डोली उठाइन्छ। परम्परागतरूपमा राम र जानकी मन्दिरबाटै जन्ती आउने गरेको भए पनि पछि अयोध्याबाट आउन थालेको प्रा.डा. लाभ बनताउँछन्।

“यो परम्परागत विधिमात्र हो, यसमा न बेहुलाले बेहुलीलाई आफ्नो घर लैजान्छ, न साँच्चिकै बेहुला–बेहुली नै बनाइन्छ”, उनले भने, “यो रमाइलोका लागि गरिएको नाटक मञ्चन पो हो।”

त्रेतायुगमा गरिएको ऐतिहासिक विवाहलाई सम्झन मात्र यसो गरिएको उनको भनाइ छ।

२०६१ सालदेखि अयोध्याका जन्ती

विवाह पञ्चमीमा अयोध्याका जन्ती जनकपुर आउन थालेको २०६१ सालदेखि हो। अयोध्याबाट प्रत्येक पाँच वर्षमा जन्ती आउँछन्। त्यहाँको विश्व हिन्दू परिषद्को हिन्दूवादी सोच र नेपाल–भारत रोटीबेटीको सम्बन्ध स्थापित गराउन यस्तो गरिएको उनको बुझाइ छ।

“हरेक वर्ष मनाउन गाह्रो हुने भएकाले पाँच वर्षमा उत्सव मनाउने गरिएको हो, यसमार्फत् दुवै देशबीच सांस्कृति सद्‍भाव र भाइचारा बढाउन खोजिएको छ”, उनले भने।

यस्तो छ विवाह पञ्चमी कार्यक्रम

आज जनकपुरमा राम र जानकी मन्दिरबाट डोली उठाएर बाह्रविघामा स्वयंवर गर्ने कार्यक्रम छ।

त्यसपश्चात नगरपरिक्रमा गरेपछि राम र जानकीको डोली जानकी मन्दिर पुगेर विधिवतरूपमा मैथिली परम्पराअनुसार विवाहको कार्यक्रम सम्पन्न हुन्छ। अनि रातभर सांस्कृतिक कार्यक्रम गरिन्छ।

विवाह पञ्चमीका लागि आएका साधुसन्तलाई आजै दक्षिणा र उपहार दिएर बिदा गरिन्छ।

जानकी मन्दिरका सह–महन्त रामरोशन दासका अनुसार तीन चार दिनपछि जानकी मन्दिरमै डोली फिर्ता आउँछ। विवाहमा सहभागी हुने बेहुला र बेहुलीका रूपमा बालबालिकालाई तयार पारिएको हुन्छ। उनीहरू पनि आ–आफ्नो घर फर्कन्छन्। राम र जानकीको डोली भने फेरबदल हुन्छ।

एक हप्ते कार्यक्रम

सप्ताहव्यापीरूपमा मनाइने विवाहपञ्चमी महोत्सव १० मंसीरबाट शुरू भयाे।

पहिलो दिन जनकपुर नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुषभंग, चौथो दिन मटकोर, पाँचौं दिन तिलकोत्सव, छैठौं दिन वैवाहिक कार्यक्रम तथा सातौं दिन रामकलेवा विधिसाथ महोत्सव सम्पन्न हुन्छ।

रामजानकी विवाह महोत्सवका लागि अयोध्याबाट आउने भनिएको प्रतीकात्मक जन्ती सीमावर्ती भारतीय बजार मधवापुरबाट आएको हो।

मटिहानी प्रवेशद्वारमा मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र लक्ष्मीनारायण मठ मटिहानीका महन्तलगायतका व्यक्तिले जन्तीको स्वागत गरेका थिए।

मटिहानीबाट जनकपुरका लागि प्रस्थान गरेपछि जिल्लाकै पिपरा गाउँपालिकाको चाँदनीचोकमा दिवा खाना खुवाई विश्राम गराएर जन्तीलाई जनकपुरतर्फ बिदा गर्ने प्रचलन भए पनि यसपालि उपनिर्वाचनका कारण जन्ती सोझै जनकपुर पुगेको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले जनकपुरमै पुगेर जन्तीको स्वागत गरिन्।

सीताराम विवाह महोत्सव–२०७६ मूल समारोह समितिद्वारा जनकपुरधामको बाह्रबिघा (रङ्गभूमि) मा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले जन्तीलाई स्वागत गर्दै प्रतीकात्मक रूपमा रहेका राम र जानकीलाई टीका लगाइदिइन्।

प्रतिक्रिया दिनुहोस्