१३ औं दक्षिण एशियाली खेलकुद: आज १५ खेल हुँदै, कुन खेल कहाँ?

काठमाडौं। नेपालले तेस्रो पटक आयोजना गर्ने मौका पाएको १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत आज काठमाडौं र पोखरामा गरी १५ खेलमा प्रतिस्पर्धा हुँदैछ।

ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल र ट्रायथलन पोखरामा हुनेछ भने बाँकी खेल काठमाडौंमा हुनेछ।

भलिबल– सागअन्तर्गत आज महिला र पुरुष दुवैतर्फको फाइनल खेल हुनेछ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्ड हलमा हुने खेलमा महिलातर्फ स्वर्णपदकका लागि प्रतिस्पर्धा हुँदैछ।

नेपालले सेमिफाइनलमा साविक उपविजेता श्रीलङ्कालाई ३–० ले लगातार पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

नेपाल दक्षिण एशियालीस्तरको सागको फाइनलमा प्रवेश गरेको यो पहिलो हो। यसअघि नेपालले सागमा तीन पटक कास्य पदकमा जितेको थियो।

फुटबल– त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज पुरुष फुटबलमा दुई खेल हुनेछ। यसमा नेपालले भुटानसँग पहिलो खेल खेल्दैछ।

उक्त खेल अपराह्न १ बजे हुनेछ। त्यस्तै अर्को खेलमा बंगलादेश र माल्दिभ्स भिड्नेछन्।

उक्त खेल अपराह्न ५ बजे हुनेछ। राउण्ड रोबिनका आधारमा हुने खेलका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन्।

क्रिकेट– साग क्रिकेटअन्तर्गत पुरुषतर्फको खेलमा नेपालले टेष्ट राष्ट्र श्रीलङ्काको यू–२३ टोलीसँग खेल्दै छ।

खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ। त्यस्तै पोखरामा हुने महिला क्रिकेटमा श्रीलङ्का र बंगलादेशको खेल हुनेछ।

उसु– आजदेखि शुरु हुने उसु खेल लगनखेलस्थित आर्मी क्लबको शारीरिक तथा प्रशिक्षण केन्द्रमा हुनेछ।

थाउलो तथा सान्सो विधामा एकै दिन प्रतिस्पर्धा हुनेछ। आज नेपालले २२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ।

सुटिङ– सुटिङ खेल पनि आजैदेखि शुरु हुँदैछ। सातदोबाटोस्थित सुटिङ हलमा हुने खेलमा नेपालको महिला टोलीले दुई खेलमा प्रतिस्पर्धा गर्नेछन्।

पुरुष टोलीले ५० मिटर थ्री पोजिशन तथा २५ मिटर सेन्टर फायरमा सहभागी जनाउँदै छ। सुटिङतर्फ नेपालले पाँच स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ।

तेक्वान्दो– १६ मंसीरमा शुरु भएको तेक्वान्दो खेलमा आज चार स्वर्ण पदकका लागि भिडन्त हुँदैछ।

ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा हुने खेलमा गेरुगीतर्फ चार स्वर्ण पदकका लागि भिडन्त हुनेछ।

आज पुरुषको ५४ केजी र ६८ तथा महिलाको ४६ केजी र ५७ केजी स्पर्धामा प्रतिस्पर्धा हुनेछ।

नेपालले सोमबार पुम्सेमा सात स्वर्ण पदक जितेको थियो।

त्यस्तै ५४ केजीमा मनोज मल्ल र ६८ केजीमा वीरबहादुर महराले नेपालको चुनौती पेश गर्नेछन्।

महिलाको ४६ मा काजल श्रेष्ठ तथा ५७ केजीमा निमा गुरुङले खेल्नेछन्।

एथ्लेटिक्स– सात स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने एथ्लेटिक्स खेल दशरथ रंगशालामा हुनेछ।

खेल तालिकानुसार १०० मिटर पुरुष र महिला स्पर्धाको हिट चरणको खेल हुनेछ।

यस्तै हाइजम्पको महिला र पुरुष, १५ सय मिटर दौडको पुरुष र महिला र १०० मिटर दौडको पुरुष महिलाको फाइनल खेल हुनेछ।

त्यस्तै १० हजार मिटर पुरुषको फाइनल खेल पनि आजै हुनेछ।

खोखो– खोखोतर्फ आज सेमिफाइनलको खेल हुनेछ। सेमिफाइनलमा भारतले श्रीलङ्का तथा नेपालले बङ्गलादेशविरुद्ध प्रतिस्पर्धा गर्नेछन्।

कराते– सागअन्तर्गत करातेमा १६ मंसीरमा सात स्वर्ण जितेको नेपालले आज विभिन्न प्रतिस्पर्धा गर्नेछ।

उक्त खेल सातदोबाटोस्थित अन्तरराष्ट्रिय खेलकूद परिसरमा रहेको कराते हलमा हुनेछ।

गल्फ– गोकर्ण फरेस्ट गल्फ क्लबमा आजदेखि शुरु हुने पुरुष व्यक्तिगततर्फ नेपाल, बंगलादेश, श्रीलङ्का र भुटानले प्रतिस्पर्धा गर्दैछन्।

महिलामा नेपाल, बङ्गलादेश र श्रीलङ्का गरी तीन देशको मात्र सहभागिता छ।

टेबलटेनिस– टेबलटेनिसको खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ।

टेनिस– सातदोबाटोस्थित टेनिस कोर्टमा हुने खेलमा टिम इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ।

नेपालका पुरुष र महिला टिम सेमिफाइनलमा पुगेका छन्। पुरुषमा नेपालले भारतसँग खेल्नेछ।

भारतले भने बाई पाएर सोझै सेमिफाइनलमा स्थान बनाएको हो। महिला टीम इभेन्टमा नेपाल र श्रीलङ्का सेमिफाइनलमा पुगेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्