उसुमा दीपकलाई स्वर्ण पदक

काठमाडौं। उसुका दीपक हमालले नेपाललाई थप एक स्वर्णपदक जिताएका छन्।

दीपकले थाउलोअन्तर्गत पुरूष नानगुनमा स्वर्ण पदक जिताएका हुन।

भारतका साजन लामालाई पछि पार्दै उनले समग्रमा १९.३२ अंक ल्याएका थिए।

सागमा हमालको यो पहिलो पदक हो। यसअघि चीनको सांघाईमा सम्पन्न १५औं विश्व उसु च्याम्पियनसिपमा २५ वर्षे हमाल उत्कृष्ट १० भित्र पर्न सफल भएका थिए।

विश्व च्याम्पियनसीपको शीर्ष १० भित्र पर्ने हमाल नेपालको पहिलो खेलाडी थिए।

भारतमा सम्पन्न १२औं सागको छनोटबाटै फालिएका दिपक हमाल जारी संस्करणमा स्वर्ण पदक जित्न सफल भएका छन्।

''नेपालका खेलाडीलाई सागमा स्वर्ण जित्ने सपना हुन्छ। त्यो पूरा भएको मा खुशी छु। पहिलो सहभागितामै स्वर्ण पदक जित्न पाउँदा अझ खुसी लागेको छ'' ,हमालले स्वर्ण पदक जितेपछि प्रतिक्रिया दिँदै भने, ''विश्व च्याम्पियनसिपमा नवौं स्थान ल्याएकाले म स्वर्ण पदक जित्नेमा बिश्वस्त थिए।''

भारतका साजनले समग्रमा १९.१२ अंक ल्याएका थिए।

उसुको थाउलोअन्तर्गत पुरूष ताइजिजियनमा श्रीलंकाका थरिदु नमल अनुरथले स्वर्ण पदक जिते।

यस प्रतिस्पर्धामा भारतका ज्ञानदास सिंहले रजत पदक जित्दा नेपालका हरिप्रसाद गोलेले काश्य पदक जिते।

श्रीलंकाका अनुरथले १९.९ अंक ल्याए भने भारतका ज्ञानदासले १८.७४ अंक ल्याए।

नेपालका हरिप्रसादले १८.४९ अंक ल्याए। प्रतिस्पर्धामा स्वच्छ नतिजा नआएको भन्दै भारत र नेपालले बिरोध गरेका थिए।

झण्डै २५ मिनेट खेल रोकिएपछि पुन: शुरु भएको थियो।

प्रतिक्रिया दिनुहोस्