बेलायतमा दोस्रो पुस्ताकी नेपाली ब्यारेष्टर

लन्डन। स्‍नेहा शाक्य श्रेष्ठ बेलायतमा दोस्रो पुस्ताकी पहिलो 'ब्यारेष्टर' (कानून व्यवसायी) बन्ने बाटोमा छिन्।

उनी भर्खरै बेलायतको इनर टेम्पल बारको सदस्य भएकी छन्।

उनी यसै वर्ष सिटी ल कलेजबाट बार प्रोफेसनल ट्रेनिङ्ग कोर्समा उच्च अंक (८०.४ प्रतिशत) प्राप्त गरी ब्यारेष्टर बन्ने अन्तिम तयारी 'पुपिलेज' गर्न योग्य भएकी छन्।

अब केही समय अन्य कानूनी फर्ममा काम गरिसकेपछि उनी आफैं प्राक्टिसिङ्ग ब्यारेष्टर बन्नेछिन्।

यसअघि प्रोफेसर डा. सूर्य सुवेदी र देवेन्द्र श्रेष्ठ बेलायतमा ब्यारेष्टरको रूपमा कार्यरत छन् ।

स्नेहा, चौतारा सिन्धुपाल्चोक स्थायी घर भएका बाबु–आमा सुरेन्द्र नेपाल श्रेष्ठ र मिनु शाक्यसँगै करीब दुई दशक पहिले बेलायत आएकी थिइन्।

उनका बाबु पनि अधिवक्ता हुन्।

स्नेहाले कक्षा २ सम्मको शिक्षा नेपालमै हासिल गरेर बाँकी अध्ययन बेलायतमा गरेकी थिइन् ।

स्नेहाले विद्यालय शिक्षा वर्दिग र स्लाओ ग्रामर तथा उच्च शिक्षा युनिभर्सिटी अफ एसेक्सबाट एलएलबी, किंग्स कलेजबाट एलएलएम उत्तीर्ण गरेकी छन्।

लण्डनस्थित प्रसिद्ध किंग्स कलेजको एलएलएमको शोधका निम्ति नेपालमा निकै चर्चा पाएको कर्णेल कुमार लामाको विषयमा अनुसन्धान गरेकी थिइन्।

बेलायतमा पनि नेपाली कानून व्यवसायीको संख्या उल्लेख्य छ।

ब्रिटेन नेपाल लयर्स एशोशियसनको पहलमा नेपालीले पनि यहाँको बारको परीक्षा दिन सक्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस्