डीएसपी ढुंगेललाई पक्रन अदालतको अनुमति

काठमाडौं। आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोप लागेका नेपाल प्रहरीका डीएसपी कुमोध ढुंगेललाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ।

काठमाडौं जिल्ला अदालतले ढुंगेललाई ९ मंसीरमा पक्राउ गर्न अनुमति दिएकाे हाे।

जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले डीएसपी ढुंगेललाई पक्राउ गर्न अदालतले अनुमति दिएको पुष्टि गरे।

“संगठित अपराध र डकैतीअन्तर्गतको मुद्दामा पक्राउ गर्न भनी प्रहरीले अनुमति मागेको थियो,” उनले देखापढीसँग भने, “अदालतले पक्राउ गर्न अनुमति दिइसकेको छ।”

९ मंसीरमा नै अदालतले उनलाई पक्राउ गर्न अनुमति दिए पनि अहिलेसम्म भने उनी पक्राउ परिसकेका छैनन्।

प्रहरीले पक्राउ पुर्जीको अनुमति पाएपछि उनको खोजी तीव्र बनाएको छ।

महानगरीय प्रहरी वृत्त लैनचौरले संगठित अपराधअन्तर्गत अनुसन्धान गर्नुपर्ने भन्दै डीएसपी ढुंगेललाई पक्राउ गर्नका लागि अनुमति मागेको थियो।

“२६ चैतमा रानीबारी क्षेत्रमा भएको डकैती प्रकरणमा डीएसपी ढुंगेलसमेत संलग्न रहेको भनी पक्राउ परेका व्यक्तिले बयान दिएपछि उनी विवादमा तानिएका थिए”, एक प्रहरी अधिकृतले भने, “सोही घटनापछि २० वैशाखमा उनलाई हेडक्वार्टरले निलम्बन गरिसकेको छ।”

उक्त डकैती घटनामा प्रहरीले चन्द्रागिरि नगरपालिका–८ का ३६ वर्षीय विक्रम श्रेष्ठ, चन्द्रागिरि–८ का ३८ वर्षीय नवराज तामाङ र नुवाकोट बेलकोटगढी नगरपालिका–४ घर भई नैकाप बस्ने २८ वर्षीय सन्तबहादुर तामाङलाई पक्राउ गरेको थियो।

उनीहरूमध्ये श्रेष्ठसँग डीएसपी ढुंगेलको पटक–पटक टेलिफोन सम्पर्क भएको अनुसन्धानबाट खुलेको थियो।

प्रहरीले अनुसन्धानका क्रममा ढुंगेलको समेत संलग्नता देखेपछि निलम्बन गरेको थियो।

उनीहरूमाथि रानीबारीका लालेन्द्र शेरचन, भानुदेवी शेरचन र मिठु थकालीबाट पाँच लाख ६० हजार लुटपाट गरेको आरोप छ।

प्रतिक्रिया दिनुहोस्