युगाण्डामा राष्ट्रपतिकै नेतृत्वमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

युगाण्डा। युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनीले आज भ्रष्टाचारविरुद्धको बृहत् र्‍यालीको नेतृत्व गरेका छन्।

पूर्वी अफ्रिकी मुलुक युगाण्डाको राजधानीमा भ्रष्टाचारविरुद्ध विशाल प्रदर्शन कार्यक्रमको आयोजना गरिएको थियो।

राष्ट्रपति मुसेभेनीले झण्डा फहराउँदै भ्रष्टाचारविरोधी जुलुसमा झण्डै चार किलोमिटर पैदल यात्रा गरेका थिए।

“भ्रष्टाचाररहित युगाण्ड मैबाट शुरू गर्छु” भन्ने मूल नारासहित भ्रष्टाचारविरुद्धको प्रदर्शनको आयोजना गरिएको थियो।

राष्ट्रपति मुसेभेनीले नेतृत्व गरेको प्रदर्शनमा उपराष्ट्रपति इड्वार्ड स्सेकान्दी, सभामुख रेबेका काडागा, प्रधानन्यायाधीश बार्त कातुरीबे, धार्मिक नेताहरू, सरकारी उच्च पदस्थ अधिकारीहरू, आमनागरिकसहित सयौँ सहभागी भएका थिए।

प्रदर्शन कन्सीच्युस्नल स्वायरबाट शुरू भई कोलोलो स्वतन्त्र मैदानमा पुगेको थियो।

प्रदर्शनका कारण कैयौँ घण्टा सडकमा सवारी साधन रोकिएको थियो।

देशको मुख्य समस्याका रूपमा रहेको भ्रष्टाचार न्यूनीकरण गर्ने अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले प्रदर्शनको आयोजना गरिएको आयोजकहरूले बताएका छन्।

भ्रष्टाचारविरुद्धको अभियानको शुरूआत १० डिसेम्बर २०१८ मा राष्ट्रपति मुसेभेनीले नै गरेका थिए।

अभियानअन्तर्गत सर्वसाधारण र सरकारी अधिकारीहरूलाई भ्रष्टाचार गर्न निरुत्साहित गर्ने विभिन्न कार्यक्रमहरू गरिएको अधिकारीहरूले जनाएका छन्।

उनीहरूका अनुसार यस अवधिमा ५८ हजार ४१५ वटा उजुरी परेका थिए भने ८ हजार २२ वटा उजुरीको सम्बोधन गरिएको छ।

कम्तीमा १११ जनालाई अदालतले दोषी ठहर गर्दै कारबाहीका लागि आदेश दिएको अधिकारीहरूले जनाएका छन्। रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्