महिला भलिबल प्रशिक्षक भट्ट भन्छन्– ‘सम्हालिन नसक्दा स्वर्णबाट चुक्यौं’

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपाली महिला भलिवल टोलीले इतिहास रचेर फाइनल यात्रा तय गर्‍यो । फाइनलमा चिरपरिचित बलियो प्रतिद्वन्द्वी भारतलाई कडा टक्कर दिएको नेपाली टोली पराजित भए पनि महिला भलिवलकै सबभन्दा ठूलो उपलब्धि रजत पदक पक्का गर्‍यो ।

१७ मंसीरमा त्रिपुरेश्वरस्थित कभर्डहलमा फाइनल खेल चलिरहँदा एक समय त लाग्थ्यो– नेपाली टोलीले स्वर्ण पदक नै जित्नेछ । तर, अन्तिम समयमा रजत पदकमै चित्त बुझाउनुपर्यो ।

राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्ट भने स्वर्ण पदकबाट चुके पनि १३औं सागमा नेपाली महिला भलिवल टोलीले ऐतिहासिक प्रदर्शन गरेको बताउँछन् । “हो, खेलाडीहरुले आफुलाई सम्हाल्न नसक्दा हामी स्वर्ण जित्न सफल भएनौं”, भट्टले देखापढीसँग भने, “तर, हामीले इतिहास रच्यौं, त्यतिमात्र नभएर नेपालको समग्र खेलमै सुधार भएको प्रमाण पेस गर्‍यौं ।”

नेपाली महिला भलिबल टोलीले आजसम्म भारतलाई पराजित गर्न सकेको छैन । यसअघि भारतसँगको खेल प्रतिस्पर्धात्मक समेत हुँदैन्थ्यो । तर, फाइनलमा नेपाल र भारत २–२ को अबस्थामा थिए, अन्तिममा बाजी भारतले मारे पनि ।

“यस पटक हामी उच्च मनोबलका साथ मैदानमा उत्रिएका थियौं, भारतीय टोली पनि नेपाली टोलीसामु दबाबमा देखिएको थियो, यो नै आफैमा एक तहको सफलता हो”, भट्टले भने, “भारतमा खेलाडीको सेवासुविधा, प्रशिक्षण र हौसला निकै माथि छ, हामी अत्यन्त न्यून स्रोतसाधनमा खेलिरहेका छौं । यसका बाबजुद पनि हामीले जस्तो खेल्यौं, त्यो गर्व गर्नलायक छ ।”

पछिल्लो समय सरकारले खेलाडीको मनोबल बढाउन सेवासुविधामा पनि ध्यान दिएको उनको भनाइ छ । हिंजो खाली खुट्टा खेल्नुपर्ने अबस्थाबाट आएका खेलाडीले १३ औं सागमा २५–३० हजारको जुत्ता लगाएर खेल्न पाएको अनुभव पनि उनले सुनाए । “तर, एउटा खेलाडीले देशका लागि खेलेर देशबाट केही लिन्छु भन्ने आशा गर्नु उसको धर्म होइन”, भट्टले भने, “खेलाडीलाई के दिन सक्छु भनेर सोच्ने दायित्व राज्यको हो ।”

प्रतिक्रिया दिनुहोस्