४४ जिल्लाका सात हजार रोपनी सरकारी जग्गा व्यक्तिका नाममा

काठमाडौं। सरकारी जग्गा निजीकरण गरिएको भयावह तथ्य फेला परेको छ।

सरकारी, सार्वजनिक र गुठीका जग्गा संरक्षणसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले छ महीना लगाएर गरेको छानबीनमा सरकारी जग्गा व्यक्तिका नाममा लगिएको प्रमाण संकलन गरेको छ।

४४ जिल्लामा मात्रै पाँच सय विघा अर्थात झण्डै सात हजार रोपनी सरकारी जग्गा व्यक्तिको नाममा नामसारी भएको भेटाएको आजको नयाँ पत्रिकामा समाचार छापिएको छ।

बालुवाटारको ललितानिवासको जग्ग्गा निजीकरण गरेको सार्वजनिक भएपछि सरकारले देशैभर हिनामिना भएका सरकारी जग्गाको लगत संकलन गर्न १३ जेठमा आयोग गठन गरेको थियो।

छानबीनअघि आयोगले उजुरी आव्हान गर्दै सार्वजनिक सूचना निकालेको थियो।

स्रोतका अनुसार आयोगमा १७७ उजुरी परे। आयोगले त्यही उजुरीका आधारमा छानबीन थालेको थियो।

सबैभन्दा धेरै सुनसरीको सर्दु जलाधार क्षेत्रमा ४२ बिघा अर्थात् ५३२ रोपनी सरकारी जग्गा किर्ते गरेर व्यक्तिको नाममा लगेको प्रतिवेदनमा उल्लेख छ।

सो क्षेत्रमा बसोवास गर्ने २२०९ घरपरिवारलाई मोरङको बयरवन र हर्षन्दहमा २४३ बिघा जमिन दिएर स्थानान्तरण गर्दै सरकारले सर्दु जलाधार क्षेत्रको जग्गा आफ्नो नाममा ल्याएको थियो।

आयोगले तयार गरेको १० खण्डको प्रतिवेदनअनुसार तराई क्षेत्रको सरकारी जग्गा बढी हिनामिना भएको छ।

सुनसरीबाहेक मोरङ, बारा, बाँके, चितवनलगायत जिल्लामा बढी जग्गा व्यक्तिको बनाइएको छ।

उपत्यका तथा पहाडी क्षेत्रमा काठमाडौं, पोखरा र सोलुखुम्बुमा बढी अनियमितता भएको छ।

प्रतिक्रिया दिनुहोस्