सञ्जुले रचिन् इतिहास, भारोत्तोलनमा स्वर्ण
पोखरा। नेपालकी सञ्जु चौधरीले १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगितामा स्वर्ण पदक जित्दै इतिहास रचेकी छन्।

महिला ५९ किलाे तौल समूहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएकी हुन्।

पोखरा-१२, माटेपानीस्थित एसआर केसी बैंक्युटमा आजदेखि शुरू प्रतियोगितामा सञ्जुले स्न्याचमा ७४ र क्लीन एण्ड जर्कमा ९७ सहित १७१ किलाे भार वहन गर्दै राष्ट्रिय कीर्तिमान (स्न्याच, क्लीन एण्ड जर्क तथा टोललतर्फ) का साथ साग भारोत्तोलनमा महिलातर्फ पहिलो स्वर्ण जित्न सफल भएकी हुन्।

प्रतियोगितामा श्रीलंकन खेलाडी आरएमएनएस राजापाक्षाले स्न्याचतर्फ ७० र क्लीन एण्ड जर्कमा ९१ गरी १६१ किलाेका साथ रजत र बंगलादेशकी फायमा अख्तरले स्न्याचमा ७० र क्लीन एण्ड जर्कमा १६० किलाे भार वहन गर्दै कांस्य जितिन्।

चार देशले भाग लिएको विधामा पाकिस्तानको पनि सहभागिता थियो।

गत वर्ष नेपाल पुलिसमा छिरेकी सञ्जुले सागको पहिलो सहभागितामै सिनियरतर्फ स्वर्ण जितेपछि यसको श्रेय प्रशिक्षकसहित घरपरिवारका सदस्यलाई सुम्पिइन्।

उनले आफूलाई निकै खुशी लागेको र सोचेजस्तो लिफ्ट लिन सकेको प्रतिक्रिया दिइन्।

साग भारोत्तोलनमा गत वर्षबाट मात्र नेपालले सहभागिता जनाएको हो।

१०औं संस्करणकाे सागमा नेपालका कमलबहादुर अधिकारीको नाममा पहिलो स्वर्ण छ।

यस्तै महिला ५५ किलाे तौल समूहमा भारतले स्वर्ण जित्यो।

त्यस्तै बंगलादेश र पाकिस्तानले क्रमशः रजत र कांस्य जित्न सफल भए।

भारतकी विन्ध्यारानी देवीले स्न्याचमा ७६ र क्लीन एण्ड जर्कमा १०५ सहित १८१ किलाे भार वहन गर्दै स्वर्ण जितेकी हुन्।

बंगलादेशकी फूलपोटी चक्माले १४८ र पाकिस्तानकी साइमा सहजादले १३५ किलाे भार वहन गरेका हुन्।

बंगलादेशबाट स्न्याचमा ६३ र क्लीन एण्ड जर्कमा ८५ तथा पाकिस्तानकी खेलाडीबाट स्न्याचमा ६१ र क्लीन एण्ड जर्कमा ७४ भार बहन गरिएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्