१३औं सागः सुटिङमा भारतको दबदबा कायमै

काठमाडौं। दक्षिण एशियाली खेलकुद(साग) अन्तर्गत सुटिङमा भारतले आज पनि आफ्नो दबदबा कायमै राखेको छ।

सातदोबाटोस्थित सुटिङ रेञ्जमा सम्पन्न १० मिटर एयर राइफल पुरुषको व्यक्तिगत स्पर्धा र टीम स्पर्धामा भारतले स्वर्ण पदक जित्यो।

भारतका पंकज कुमारले २४९.२ अंकका साथ स्वर्ण पदक जित्दा भारतकै किरण अंकुश जाधवले रजत पदक जिते।

जाधवले २४८.७ अंक स्कोर गरेका थिए।

२२८.० अंकका साथ बंगलादेशका अब्दुल बकीले कांस्य पदक जित्न सफल भए।

व्यक्तिगत प्रदर्शनका आधारमा नेपालका अर्नव घिमिरे छनोट चरणको १४औं स्थानमा थिए।

उनले ५८६.७ अंक बनाएका थिए।

१५औं स्थानमा ५८६.६ अंकसहित हरिबहादुर थापा थिए भने अर्का नेपाली खेलाडी कुमार कार्की ५७०.५ अंकसहित १७औं स्थानमा रहँदै छनोट चरणको यात्रा पार गर्न सकेनन्।

टीम इभेन्टमा भारतका यशवर्द्धन, किरण अंकुस जाधव, पंकज कुमारको समूहले १८७५.८ अंकसहित स्वर्ण पदक जितेका हुन्।

यस इभेन्टसमा पाकिस्तानका लटिफ अक्वि, फरिद जिहान उल सकिर र अदिल गुफ्रनको जोडीले रजत पदक जित्यो।

उनीहरूले १८४६.४ अंक जोडेका थिए।

बंगलादेशका मुन्ना मोहम्मद रवि हसन, मोहम्मद रुवेल इस्लाम र अब्दुल्लाह बकीको जोडीले कांस्य जित्याे।

यस्तै सुटिङमा भारतले ५० मिटर राइफल थ्री पोजिसन महिलामा पनि स्वर्ण पदक जितेको छ।

यसको टिम इभेन्टमा पनि भारतल नै स्वर्ण पदक जित्यो ।

भारतकी सुनिधि चौहान, काजल सैनी र गायत्री निथ्यानन्दमको समूहले ३५०४ अंकसहित स्वर्ण पदक जितेको हो।

बंगलादेशका उमि जकिया सुल्ताना,सायद अटिका हसनले ३३९८ अंकसहित रजत पदक जितेको हो।

श्रीलंकाका इडवेला मलवादम, प्रियानाथ कापुगेडरा र कभान्डिका कंकागीको समूहले ३३८२ प्वाइन्टका साथ कांस्य पदक जित्यो।

व्यक्तिगत स्पर्धामा भारत तीनवटै पदक जित्यो।

गायत्री निथ्यानन्दमले ४५३.९ अंकका साथ स्वर्ण पदक जित्दा सुनिधि चौहानले ४५० अंकका साथ रजत र काजल सैनीले ४३६ अंकका साथ कांस्य पदक हात पारिन्।

प्रतिक्रिया दिनुहोस्