पदकविहीन बनेपछि सन्तोषीले भनिन्– ‘रिकभरी टाइम मिलेन, मिडियाले पनि डिस्टर्ब गरे’

काठमाडौं। दक्षिण एशियाली खेलकुद (साग)को १३औं संस्करण अन्तर्गत १७ मंसीरमा स्वर्ण पदक जितेपछि सन्तोषी श्रेष्ठको चर्चा एकाएक चुलियो।

नचुलियोस् पनि कसरी! उनले एथलेटिक्समा महिलातर्फ ऐतिहासिक पहिलो स्वर्ण पदक जितेकी थिइन्। यसभन्दा पहिले सागको इतिहासमा एथलेटिक्सतर्फ नेपाली महिला खेलाडीले स्वर्णपदक जितेका थिएनन्।

त्यो खडेरी तोडेकी सन्तोषीले १० हजार मिटर दौडमा स्वर्ण पदक जितिन्।

सन्तोषीको ऐतिहासिक सफलतापछि संचारमाध्यमले उनलाई पछ्याउनु स्वभाविक थियो। उनको त्यो ऐतिहासिक क्षणको अनुभवलाई शब्द, चित्र र दृश्यमा कैद गर्न संचारकर्मीहरू तँछाडमछाड गरेर लागे।

लुकेका प्रतिभा उजागर गर्ने र स्थापित प्रतिभालाई ठूलो दायरामा विस्तार गर्ने सञ्चारकर्मीको यस्तो प्रयास कहिलेकाहीँ भने प्रत्युत्पादक पनि बन्छ। सन्तोषीका हकमा त्यस्तै भयो।

सन्तोषी आज सागको ५ हजार मिटर दौडमा असफल भइन्। असफल मात्र भइनन्, उनले त्यो असफलताको कारणमा सञ्चारकर्मीलाई पनि जोडिन्। ५ हजार मिटर दौडकमा पदकविहीन बनेपछि उनले भनिन्, “अस्ती मात्र १० हजार मिटर दौडिएकी थिएँ, आज फेरि दौडिँदा मलाई रिकभरी टाइम पुगेन। त्यसमाथि मिडियाका कारण पनि यो बीचमा मलाई डिस्टर्ब भइरह्यो।”

१७ मंसीरमा सन्तोषीले अप्रत्यासित रूपमा स्वर्ण पदक जितेपछि उनीमाथिको अपेक्षा ह्वात्तै बढेको थियो। आज पनि सबैको नजर उनीमाथि थियो । तर, ५ हजार मिटर दौडमा उनले कुनै पदक हासिल गर्न सकिनन्। चौथो स्थानमा सीमित हुन पुगिन्।

“अरू देशका खेलाडी यही इभेन्टका लागि मात्र तयारी गरेर आएका थिए, म अस्ति पनि दौडिएँ”, सन्तोषीले भनिन्।

५ हजार मिटर दौडमा श्रीलंकाकी उडा कुबुरालेजले स्वर्ण पदक जितिन्। उनले १६ मिनेट ५५.१८ सेकेण्डमा दूरी पूरा गर्दै स्वर्ण जितेकी हुन्। रजत र कांस्य पदक भारतले जित्यो। भारतकी पारुल चौधरीले १६ मिनेट ५७.४९ सेकेण्डमा दूरी पार गर्दै रजत पदक जित्दा प्रिति लाम्बाले १७ मिनेट ०९.३२ सेकेण्डमा दूरी पार गर्दै कांस्य पदक जितिन्।

सन्तोषीले १७ मिनेट १३.६८ सेकेण्डमा दूरी पार गरिन्।

पदक जित्न नसके पनि सन्तोषी आफ्नो प्रदर्शनबाट भने सन्तुष्ट छिन्।

“मैले आफ्नो तर्फबाट उत्कृष्ट गर्ने प्रयास गरेकै हो, मेरो तुलनामा अन्य खेलाडी राम्रा थिए”, उनले थपिन्, “धेरै उच्चस्तरको खेलाडी भएका कारण उनीहरूले अन्तिम ल्यापमा स्पिड बढाउँछन् भन्ने थाहा थियो। त्यसैले म आफ्नै हिसाबले दौडिएँ। पछिमात्र याद गरें, उनीहरू धेरै अगाडि गइसकेछन्। पदक नजिते पनि आजको प्रदर्शनबाट म सन्तुष्ट छु।”

प्रतिक्रिया दिनुहोस्