बलात्कार प्रयासका आरोपी पत्रकार सुवेदीविरुद्ध अनुसन्धान गर्न म्याद थप
काठमाडौं। बालिका बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पत्रकार शिव सुवेदीलाई थप अनुसन्धान गर्न अदालतले दोस्रो पटक म्याद थप गरेको छ।

१९ मंसीरमा रूपन्देही जिल्ला अदालतले सात दिन म्याद थपेको हो। यसअघि उनलाई पाँच दिन म्याद थपिएको थियो।

प्रहरीले अनुसन्धान सकेर सरकारी वकीलको कार्यालयमा प्रतिवेदन बुझाएपछि वकील कार्यालयले मुद्दाको अभियोग पत्र अदालतमा दायर गर्नेछ।

गुल्मीका पत्रकार सुवेदीमाथि १६ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोप लागेको छ।

“पीडित बालिकाको जाहेरीपछि हामीले पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं,” रुपन्देहीका एसपी हेमबहादुर थापाले देखापढीसँग भने ।

९ मंसीरमा पीडित बालिकाले प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। उनको जाहेरीपछि प्रहरीले पत्रकार सुवेदीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार स्याङ्जा घर भई बुटवल बस्दै आएकी ती बालिका १–३ मंसीरसम्म लुम्बिनीमा सञ्चालित ‘लुम्बिनी न्यूज फेस्टिभल’मा सहभागी हुन साथीसँग पुगेकी थिइन्।

सोही फेस्टिभलमा सहभागी हुन पुगेका सुवेदीले १ मंसीरमा एक होटलमा जबरजस्तीको प्रयास गरेको जाहेरीमा उल्लेख छ।

कक्षा ११ मा अध्ययनरत ती बालिका बुटवलमा आफन्तको घरमा बस्दै आएकी थिइन्।

पीडितले बुटवलकै एक रेडियोमा बाल कार्यक्रम चलाउने गर्थिन्।

लुम्बिनीमा लुम्बिनी न्यूज फेस्टिभल हुन लागेपछि उनकै एक साथीले सहभागी गराउन लगेकी थिइन्।

कार्यक्रममा सहभागी भएर सो दिन उनीहरू एक होटलमा बास बस्न पुगेका थिए। त्यहीँ ती साथीसँगै शिव सुवेदी र उनका साथीसमेत पुगेका थिए।

बालिकालाई जुस भनेर ह्विस्की पिउन लगाएको खुलेको छ। अन्यले बियर सेवन गरेका थिए। त्यसलगत्तै त्यहाँबाट पीडित बालिकाकी साथी र अर्को व्यक्ति केहीबेरमा आउने भन्दै बाहिर निस्केका थिए।

अरू कोही नभएको मौका छोपेर आरोपित सुवेदीले आफूलाई जबरजस्ती करणी प्रयास गरेको ती बालिकाले जाहेरीमा उल्लेख गरेकी छन्।

उक्त घटना लुकाउन उल्टै बालिकालाई धम्की दिइएको समेत खुलेको छ। परिवारलाई घटनाका बारेमा सुनाएपछि पीडितले ९ मंसीरमा प्रहरीमा जाहेरी दिएकी हुन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्