‘मिहिनेतले १४ वर्षपछि सपना पूरा भो’

- गोपीकृष्ण पार्की

सन् २००६ मा धावक राजेन्द्र भण्डारीले स्वर्ण पदक जिते पनि ‘डोपिङ’का कारण पदक खोसिएको समाचार भाइरल बनेको थियो।

म त्यसबेला स्कूल पढ्थें।

क्लासमा सरले हामीलाई यसबारे सुनाउनुभो।

डोपिङका कारण जितिसकेको मेडल पनि खोसिन्छ भन्ने त्यही बेला थाहा पाएँ।

त्यही बेला मैले अठोट गरें– अब म पनि दौडेर मेडल ल्याउँछु। तर, कसरी दौडिने, कहाँ दौडिने, के-के गर्ने भन्नेबारे केही थाहा थिएन।

२०६३ सालमा श्री भवानी मावि, धनगढी (कैलाली) मा दौडेर पहिलो पटक काठमाडौं आएँ।

तर, काठमाडौंमा जित्न सकिनँ। हारेर फर्कें। यहाँ सबै आर्मी, पुलिसका खेलाडी थिए। हामी ट्रेनिङ पनि नपाएका।

त्यसपछि मेरो मनमा लाग्यो– आर्मी, पुलिस भए पो जितिँदोरैछ। अनि म २०६६ सालमा सशस्त्र प्रहरी बलमा भर्ना भएँ।

सजिलो त त्यहाँ पनि थिएन। एपीएफ क्लबमा आउनु आफैंमा एउटा चुनौती थियो।

सुदूरपश्चिमको खप्तडमा बसेर दौड्न सकिन्नथ्यो। काठमाडौं आउनुपर्थ्यो।

त्यहीबेला डीएसपी माधव कार्की एपीएफ क्लबमा शाखा इन्चार्ज भएर आउनुभो। उहाँ र प्रशिक्षक सुशील नरसिंह श्रेष्ठले मेरो क्षमता देखेर २०६९ सालमा मलाई काठमाडौं तान्नु भयो। त्यसको तीन महिनामै म राष्ट्रिय टीममा परें।

अनि मैले १० किलोमिटरमा राष्ट्रिय कीर्तिमान बनाएँ।

कारणवश, बीचमा मैले म्याराथन खेल्नुपर्‍यो।

दुई म्याराथन जितें पनि। नेपालकै उत्कृष्ट नतिजा पनि ल्याएँ। तर, बीचमा के विचार आयो भने म्याराथनमा हाम्रो मेडल छँदैछ। ५ हजारमा हाम्रो खोसिएको मेडल फिर्ता लिनुपर्छ भन्ने लाग्यो।

त्यही भएर म पाँच हजार मिटरमा गएँ।

दौडेर मेडल जित्ने सपना देखेको १४ वर्षपछि म त्यो सपना पूरा गर्न सफल भएँ। ३१ वर्षकै उमेरमा सही, त्यो सपना साकार भएको छ।

पाँच हजार मिटरमा हाम्रो खोसिएको मेडल फिर्ता ल्याउनु सजिलो भने थिएन। भारतले धेरै रणनीति बनाएको थियो।

श्रीलंका पनि निकै राम्रो थियो। तर, जसरी पनि जित्नु छ भन्ने मनमा थियो।

दक्षिण एशियाको जुनसुकै खेलाडीलाई पनि हराउन सक्छु भन्ने आत्मविश्वास थियो। त्यही आत्मविश्वाससहित मैले बिदा पनि नबसेर अभ्यास गरें।

यो सब त्यही मिहिनेतको नतिजा हो।

(पार्कीसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्