त्रिविका विद्यार्थीले एक लाखसम्म उपचार खर्च पाउने

काठमाडाैं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यसै आर्थिक वर्षदेखि विद्यार्थीको उपचारमा एक लाख रूपैयाँसम्म खर्च गर्ने भएको छ।

त्रिविका आङ्गिक क्याम्पसमा अध्ययनरत प्रतिविद्यार्थीलाई उपचार खर्च एक लाख रूपैयाँसम्म उपलब्ध गराइने त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए।

यसअघि त्रिविले प्रतिविद्यार्थी ५० हजार रूपैयाँसम्मको खर्च गर्ने गरेको थियो।

त्रिविले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल पोखरा, धाैलागिरि अञ्चल अस्पताल बागलुङ, प्रदेश अस्पताल सुर्खेत र भेरी अञ्चल अस्पताल नेपालगञ्जबाट उक्त सुविधा दिनेछ।

ती अस्पतालसँग त्रिविले उपचार खर्चका लागि एक लाख रूपैयाँसम्म खर्च गर्ने गरी सम्झौता गरेको छ। देशभरि आङ्गिक क्याम्पसमा अध्ययन गरेका विद्यार्थीले उक्त सुविधा पाउने छन्।

सम्झौताअनुसार ती अस्पतालले प्रयोगशाला परीक्षण, शैय्या शुल्कमा प्रति विद्यार्थीलाई एक लाख रूपैयाँसम्म उपचार खर्च व्यहोर्ने गरेका छन्। उनले यसै आर्थिक वर्षमा अन्य क्याम्पस र अस्पतालसँग सम्झौता गर्ने तयारी गरिरहेको जानकारी दिए।

त्रिवि सभा सदस्य तथा आरआर क्याम्पसका स्ववियू सभापति तपेन्द्रबहादुर शाहीले क्याम्पसको सिफारिसमा गएका विद्यार्थीले उक्त सुविधा पाउने बताए।

उनले आफूहरूले उपचार खर्च पूर्ण निःशुल्क गराउन माग गरेको बताए।

उनका अनुसार क्याम्पसले विद्यार्थीबाट उपचार खर्च भनेर प्रतिविद्यार्थी ५०० रूपैयाँ शुल्क लिँदै आएको छ।

त्रिविले आव २०७३/७४ देखि विद्यार्थीका स्वास्थ्य उपचार कोष खडा गरेर विद्यार्थीलाई उपचारमा सहयोग गर्दै आइरहेको छ।

अब सम्बन्धन प्राप्त क्याम्पसले पनि छात्रवृत्ति दिनुपर्ने

त्रिविसँग सम्बन्धन लिएका क्याम्पसले पनि १० प्रतिशत पूर्ण निःशुल्क छात्रवृत्ति दिनुपर्ने भएको छ।

त्रिवि सभाले सम्बन्धन लिएका क्याम्पसले पनि छात्रवृत्ति दिनुपर्ने निर्णय गरेको रजिष्ट्रार उप्रेतीले जानकारी दिए।

त्रिविमा करीब ६२ आङ्गिक र एक हजार सम्बन्धन प्राप्त क्याम्पस छन्।

यसअघि त्रिविका आङ्गिक क्याम्पसलाई मात्र छात्रवृत्ति उपलब्ध गराउँदै आएको थियो।

यसैगरी त्रिविले छात्रवृत्तिका लागि तीन करोड ७१ लाख ४६ हजार रूपैयाँ छुट्याएको छ। रासस

प्रतिक्रिया दिनुहोस्