कार्यालयमै बन्धक बनाएर बलात्कार गरेको आरोपमा हेल्थपोस्टका इन्चार्ज पक्राउ

काठमाडौं। रौतहटमा एक महिलालाई स्वास्थ्य संस्थाभित्रै बन्धक बनाएर बलात्कार गरेको आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन्।

चितवनबाट घुम्न आएकी एक ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा यमुनामाई गाउँपालिकास्थित सरुअठा स्वास्थ्य चौकीका इन्चार्ज, ४५ बर्षीय सुधीरकुमार सिंह पक्राउ परेका हुन् । सिंहले आफूलाई स्वास्थ्य संस्थाभित्रै बन्धक बनाएर बलात्कार गरेको जाहेरी प्रहरीमा दिएकी थिइन् ।

“बन्धक बनाएर बलात्कार गरेको भन्ने उजुरीपछि उनलाई हिंजो पक्राउ गरेका हौं” जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त प्रमुख, प्रहरी नायव उपरीक्षक नविन कार्कीले भने, “थप अनुसन्धान भइरहेको छ।”

डीएसपी कार्कीले उनलाई आइतबार रौतहट जिल्ला अदालतबाट म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढाइने देखापढीलाई जानकारी दिए।

१७ मंसिरमा चितवनबाट घुम्न रौतहट पुगेकी ती महिलालाई अर्को दिन सिंहले बसपार्क पुर्‍याइदिने भन्दै स्वास्थ्य संस्थामै लगेर रातभर बलात्कार गरेको आरोप छ ।

घर फर्किन गाडी कुरिरहेको बेला आफूले सहयोग गर्ने भन्दै उनले मोटरसाइकलमा राखेर लिएका थिए ।

त्यहाँ पुर्‍याएर रातभर बलात्कार गरेको र यातना दिएको दाबी गर्दै ती महिलाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन्।

पीडित महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परीक्षण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्