चार नेपाली महिला बक्सर फाइनलमा

काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत बक्सिङतर्फ आज तीन नेपाली महिला बक्सरले फाइनलमा स्थान पक्का गरेका छन्।

आज तीन महिला फाइनलमा स्थान पक्का गरेसँगै बक्सिङमा चार नेपाली महिला बक्सरले स्वर्णका खेल्ने भएका छन्।

ललितपुरको सातदोबाटोमा भएको खेलमा नेपाली महिला खेलाडीहरू ललिता महर्जन, मीनु गुरुङ र संगीता सुनारले फाइनलमा स्थान बनाएका हुन्।

६४ किलाेमा पूनम रावलले यसअघि नै 'बाई' पाएर फाइनलमा स्थान बनाएकी थिइन्।

महिला ४८ किलाे तौल समूहको खेलमा ललिताले श्रीलंकाकी नादिका पुष्प रनासिंघे अराचचिघेलाई हराउँदै फाइनलमा स्थान बनाएकी हुन्।

महिला ५४ किलाे तौल समूहमा मीनुले बंगलादेशकी ओनिता ईस्लामलाई पराजित गरेकी हुन्।

यसैगरी ६० केजी तौल समूहमा संगीताले श्रीलंकाकी केशानी हंसिका कस्तुरी अर्चचिघेलाई हराउँदै भारतकी परबिनसँग स्वर्णका लागि भेट पक्का गरिन्।

परबिन भने 'बाई' पाएर सोझै फाइनल प्रवेश गरेकी हुन्।

पुरुष ४९ किलाे तौल समूहको खेलमा भने नेपालका सुशील थापामगर भारतका विनोद तनवरसँग पराजित भए। हारसँगै सुशील कांस्य पदकमा चित्त बुझाउन बाध्य भए।

५६ किलाे तौल समूहमा नेपालका पूरन राई कांस्य पदकमा सीमित बने।

६४ किलाे तौलमा नेपालका भूपेन्द्र थापामगरले बंगलादेशका मोहमद अलामिनलाई हराउँदै फाइनलमा प्रवेश गरेका छन्। पुरुष ९१ किलाेमा नेपालका अर्जुन सिगु भारतका गौरव चौहानसँग पराजित हुँदै कांस्य पदकमा चित्त बुझाउनु पर्‍यो।

दोस्रो दिनको खेलपछि फाइनल पुग्ने नेपाली खेलाडीहरुः

महिलातर्फः ललिता महर्जन (४८ किलाे), मीनु गुरुङ (५४ किलाे), संगीता सुनार (६० किलाे), पूनम रावल (६४ किलाे)

पुरुषतर्फः आशिष दुवाडी (९१ किलाेमाथि), भूपेन्द्र थापामगर (६४ किलाे)

कांस्य पक्का हुने खेलाडीहरूः

सुशील थापामगर, पूरन राई, अर्जुन सिगु

प्रतिक्रिया दिनुहोस्