गुप्तचरले अख्तियारमा बुझायो राजस्व कर्मचारीको सम्पत्ति विवरण

काठमाडौं। गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागले अकुत सम्पत्ति आर्जन गरेको आशंकामा राजस्व (भन्सार र कर प्रशासन) समूहका कर्मचारीहरूको सम्पत्ति विवरण संकलन गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ।

अख्तियारको आग्रहमा राष्ट्रिय अनुसन्धान विभागले केन्द्र, प्रदेश र जिल्ला तहमा रहेका आफ्ना संयन्त्रमार्फत राजस्व समूहका कर्मचारी, उनीहरूका परिवार र नातागोताको चल/अचल सम्पत्ति विवरण बटुलेको हो।

अख्तियारले निजामति, प्रहरी र राअविको संयुक्त संयन्त्रलाई ‘सूक्ष्म निगरानी समूह’ नाम दिएर शंकास्पद व्यक्ति तथा कर्मचारीको सम्पत्ति विवरण संकलन गरिरहेको स्रोतले जनाएको छ।

भ्रष्टचार अनुसन्धान तथा नियन्त्रणमा निगरानी समूह सक्रिय रहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

“अख्तियारले सुशासन कायम गर्न स्टिङ अपरेसन र सूक्ष्म निगरानी समूहलाई सक्रिय बनाएको छ”, कोइरालाले भने, “दुवै संयन्त्रले तोकिएको कार्यक्षेत्रमा रहेर काम गरिरहेका छन्।”

सो समूह प्रमुख आयुक्त नवीनकुमार घिमिरेको प्रत्यक्ष निर्देशन र नेतृत्वमा सक्रिय रहेको आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ।

हरेक वर्ष सरकारलाई बुझाई अद्यावधिक गरेको सम्पत्ति विवरण र नातागोतासहित कर्मचारीका नाममा रहेको सम्पत्ति विवरण मेल नखाएपछि पहिलो चरणमा राजस्व समूहमा कार्यरतहरूको सम्पत्ति संकलन गरिएको हो।

प्रतिक्रिया दिनुहोस्