४०० केभी ढल्केबर सबस्टेशनको निर्माण पुसभित्र सकिने

काठमाडौं। मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि धनुषामा निर्माणाधीन ४०० केभी ढल्केबर सबस्टेशनको काम अन्तिम चरणमा पुगेको छ।

यही पुस महीनाभित्र (डिसेम्बर २०१९) निर्माण सम्पन्न गरी संचालन गर्ने लक्ष्यका साथ अहिले जिआइएस प्रविधियुक्त स्वचालित सबस्टेशनको काम भइरहेको छ।

यो सबस्टेशन मुलुकभित्र पूर्व–पश्चिम विद्युत आपूर्ति र भारतसँग विद्युत व्यापारका लागि ठूलो हब बन्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

सबस्टेशन चार्ज भएपछि नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत आयात निर्यातका लागि पूर्वाधार तयार हुने छ।

“वर्षायाममा बढी भएको खण्डमा ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतमा सिधै निर्यात गर्न सकिन्छ” घिसिङले भने, “हिउँदमा आवश्यक परेमा न्यूनतम ६०० मेगावाट आयात गर्न सकिन्छ भने दुई मुलुकबीच इनर्जी बैकिङ गर्न समेत बाटो खुल्ने छ।” दुई मुलुकबीच इनर्जी बैकिङ गर्ने सैद्धान्तिक सहमति भइसकेको छ।

ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइने २२० केभीमा संचालनमा छ। ढल्केबरमा ४०० केभीको सबस्टेशन निर्माण सम्पन्न भएपछि यो लाइन ४०० केभीमा संचालन हुने छ।

नेपाल सरकार र विद्युत प्राधिकरणको करिब दुई अर्ब रुपैयाँ लगानीमा निर्माणाधीन ४००/२२० केभीको ढल्केबर सबस्टेशन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेशन हो।

सबस्टेशन रहने तीन वटा ट्रान्सफर्मरमध्ये कम्तिमा पनि एउटा पुसभित्र चार्ज गरिसक्न जनशक्ति थप्नका लागि कार्यकारी निर्देशक घिसिङले यसै साता स्थलगत निरीक्षण गरी निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्