चितवन अटो दुर्घटना: मृत्यु भएका पाँचै जनाको सनाखत

चितवन। राप्ती नगरपालिका–५ मा २१ मंसीर साँझ भएको अटो दुर्घटनामा परी मृत्यु हुने पाँचै जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका पिपलटारी स्थायी ठेगाना भई हाल पूर्वी चितवनको खैरहनी नगरपालिका–८ बस्ने ४९ वर्षीय श्यामप्रसाद तिवारी, खैरहनी नगरपालिका–९ का ४२ वर्षीय विश्वमणी भण्डारी र राप्ती नगरपालिका–९ की २५ वर्षीया मीना खड्का छन्।

उनीहरुको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।

मृत्यु भएका अन्यमा राप्ती नगरपालिका–९ की ३२ वर्षीया माया तामाङ र खैरहनी नगरपालिका–३ की ३९ वर्षीया मनमाया नेपालीको रहेको प्रहरीले जनाएको छ । उपचारका क्रममा उनीहरुको भरतपुर अस्पतालमा मृत्यु भएको हो।

घाइते हुनेमा अटोचालक खैरहनी नगरपालिका–३ का २६ वर्षीय मणिराम गिरी छन्। गिरीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

राप्ती नगरपालिका–४ चेपाङमार्गबाट भण्डारातर्फ आउँदै गरेको ना १ ह ६४०९ नम्बरको अटो राप्ती नगरपालिकाको डुम्रेखाडी पुल नजिक अनियन्त्रित भई पल्टिएको थियो।

क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए। रासस

प्रतिक्रिया दिनुहोस्