‘झोले चिकित्सक’ले उपचार गर्दा दुईजनाकाे मृत्यु
<p>बाँके। बाँकेको नरैनापुर–५ का एक स्वघोषित चिकित्सकविरुद्ध प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान शुरू गरेको छ।</p>
<p>‘झोले चिकित्सक’को उपचारकै कारण दुईजनाको मृत्यु भएपछि प्रहरीले जाहेरी दर्ता गरी अनुसन्धान अघि बढाएको हो। यद्यपि, आरोपित चिकित्सक भने फरार छन्।</p>
<p>मंसीर दोस्रो साता ‘झोले चिकित्सक’ भारत श्रावस्ती जिल्लाको मनकौराका राजेश सिंहले उपचार गर्दा नरैनापुर–५ मटेहियाका ३० वर्षीय गयाराज धोबी र राप्तीसोनारी–७ गेंदवाका २८ वर्षीय मालिकराम धोबीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय बाँके र औषधि व्यवस्था विभागले समेत मेडिकलमा छापा मारेको थियो।</p>
<p>त्यसक्रममा दुई औषधि पसलको औषधि नियन्त्रणमा लिएको र एउटा औषधि पसललाई बन्द गरिएको थियो। “अनुसन्धानका क्रममा रहेकाले धेरै कुरा बोल्न मिल्दैन”, इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी नायव निरीक्षक मुकुन्द सिग्देलले भने, “मुद्दा दर्ता गरेर घटनाको अनुसन्धान भइरहेको छ।” <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्