चीन–अमेरिका व्यापार खुम्चियो
बेइजिङ। संयुक्तराज्य अमेरिकासँग यस वर्षको नोभेम्बरमा चीनको व्यापारमा कमी आएको छ। चीन र अमेरिकाबीच जारी व्यापार युद्धकै कारण दुई देशबीचको व्यापारमा मन्दी आएको विश्लेषकहरूले बताएका छन्।

अघिल्लो वर्षको तुलनामा नोभेम्बरमा चीनबाट संयुक्तराज्य अमेरिकातर्फको व्यापारमा २३ प्रतिशतले कमी आई ३५ अर्ब ६० करोड अमेरिकी डलरमा सीमित भएको छ।

चिनियाँ भन्सार विभागका अनुसार अमेरिकाबाट हुने आयातमा पनि २.८ प्रतिशतले कमी आएको छ। अमेरिकाबाट चीनतर्फ करिब ११ अर्ब डलर बराबरको मालवस्तु आयात भएको छ।

तर, चीनबाट फ्रान्सतर्फ भएको निकासीमा भने सुधार आएको छ जसका कारण चीनको कूल व्यापार घाटामा कमी आएको छैन।

विश्वव्यापीरूपमै मागमा कमी आए पनि अघिल्लो वर्षको तुलनामा निकासीतर्फ १.१ प्रतिशत वृद्धि भई करीब २२२ अर्ब अमेरिकी डलर पुगेको छ।

आयातमा भने ०.३ प्रतिशत वृद्धि भएको छ। चीनले यस अवधिमा १८३ अर्ब अमेरिकी डलर बराबरको वस्तु तथा सेवा खरिद गरेको छ।

संयुक्तराज्य अमेरिका र चीनबीच व्यापार वार्ता जारी रहे पनि ठोस सहमति अझै हुन सकेको छैन। अमेरिकी प्रविधि जबर्जस्ती चीनले हत्याएको आरोप लगाउँदै वर्तमान ट्रम्प प्रशासनले चीनमाथि व्यापार युद्ध नै शुरू गरेको छ।

दुवै देशले एकअर्काका सामानमा २५ प्रतिशतसम्म करवृद्धि गरेपछि विश्वव्यापी आर्थिक मन्दीको सम्भावना बढेको छ। रासस/एपी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्